काठमाडौं उपत्यकाको निषेधाज्ञा असार ७ गतेसम्म कायम (भिडियोसहित)

काठमाडौं उपत्यकाको निषेधाज्ञा असार ७ गतेसम्म कायम (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।

काठमाडौं उपत्यकामा कोरोना संक्रमण रोकथामका लागि लागू गरिएको निषेधाज्ञाको म्याद थप गर्दै यसलाई केही खुकुलो बनाइएको छ । थप एकसाता निषेधाज्ञा लम्ब्याइएको छ भने थपिएको निषेधाज्ञा असार ७ गते मध्यरातसम्म रहने भएको छ । अब किराना र पुस्तक पसलहरु पनि बिहान ११ बजेसम्म खोल्न पाइने भएको छ । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले दिएको जानकारी अनुसार संक्रमणदर ३० प्रतिशतभन्दा तल नझरेकाले निषेधाज्ञालाई निरन्तरता दिइएको हो । निषेधाज्ञामा सवारी आवागमनमा लगाइएको रोक भने यथावत नै रहेको पनि अधिकारीहरूको भनाइ छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले देशकै पहिलो लिक्विड अक्सिजन प्लान्टको आज भर्चुअल माध्यमबाट शिलान्यास गरेका छन्। शिलान्यासपछि कार्यक्रमलाई प्रधानमन्त्री निवास बालुवाटारबाटै सम्बोधन गर्दै उनले कोभिड १९ महामारीको दोस्रो लहर सुरु भएपछि अक्सिजनको तीव्र अभाव ब्यहोरेको नेपालका लागि प्लान्टको स्थापना असाधारण खुसीको विषय भएको बताए। अचानक बढेको उच्च माग र महामारीमा अक्सिजन व्यवस्थाका लागि गरिएको प्रयासले माग धान्न नसकिएपछि  लिक्वीड अक्सिजन प्लान्ट राख्ने निष्कर्षमा सरकार पुगेको प्रधानमन्त्रीको भनाइ छ। 

नेप्से परिसूचक आज ३८.३२ अंकले बढेर २९८३.११ विन्दुमा पुगेको छ । कारोबार रकममा पनि रेकर्ड कायम गरेको छ । आज १९ अर्ब ५५ करोड १ लाख बराबरको कारोबार भयो । यो अहिलेसम्मकै उच्च हो । यसभन्दा अघि गत आइतबार १७ अर्ब २७ करोड १७ लाख कारोबार भएको थियो । आज सबैभन्दा बढी कमाउने कम्पनीहरूमा श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी, कर्णाली विकास बैंक, सिन्धु विकास बैंक रहने । यी कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ।

१६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज (आइतबार) विभिन्न तीन खेलहरु हुँदैछन् ।  आज समूह ‘सी’ को दुई खेल र समूह ‘डी’ को एक खेल हुनेछ । आज हुने पहिलो खेलमा समूह ‘डी’ मा रहेको इंग्ल्यान्ड र क्रोएसियाबीचको प्रतिस्पर्धा अहिले लण्डनको वेम्बली स्टेडियममा जारी छ। यस्तै दोस्रो खेलमा अष्ट्रिया र नर्थ म्यासेडोनियाबीच खेल हुनेछ । आजको अन्तिम खेलमा नेदरल्यान्ड्स र युक्रेनबीचको प्रतिस्पर्धा रहेको छ। समूह ‘सी’ को नेदरल्यान्ड्सले घरेलु मैदानमा युक्रेनको सामना गर्नेछ । 

म्यान्मारमा गत फेब्रअरी १ देखि सैनिक शासन लागू भएको छ। सेनाले सरकार तथा दलका नेताहरुलाई नियन्त्रणमा लिएर शासन आफूले चलाएको घोषणा गरेको छ । यसबीचमा म्यान्मारको लोकतन्त्र जोगाउन माग गर्दै ‘जी ७’ को सम्मेलन स्थलमा प्रदर्शन भएको छ। बेलायतमा बसोबास गर्दै आएका म्यान्मारका नागरिकले आफ्नो देशमा लोकतन्त्र जोगाउन माग गरेका हुन्।  शनिबार भएको प्रदर्शनमा सयौँ बर्मेलीहरु सहभागी भएको समाचारहरुमा जनाइएको छ। 

Logo