देशभर बाढीपहिरोको वितण्डा, जनधनको व्यापक क्षति (भिडियोसहित)

देशभर बाढीपहिरोको वितण्डा, जनधनको व्यापक क्षति (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

नेपालमा यस वर्षको मनसुन सुरुभएसँगै भएको अविरल बर्षाका कारण देशभरका साना ठूला नदीमा पानीको वहाव बढेको छ। पुर्व मेचीदेखि पश्चिम महाकालीसम्मका चुरे पर्वतमा साना–ठूला पहिरोले जनजीवन असहज बनाएको छ। 

मंगलबारमात्रै सिन्धुपाल्चोकमा बाढी र पहिरोमा परी सात जनाको मृत्यु भएको छ। यस्तै थुप्रै सम्पर्कविहिन हुँदा क्षतीको अझै यथेष्ट तथ्यांक सरकारसँग छैन। 

इन्द्रावती गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङका अनुसार मेलम्ची परियोजनाको ड्याम साईडमा सुरक्षा दिन तैनाथ सुरक्षाकर्मी र विद्युतगृहमा कार्यरत कर्मचारी लगभग दश जना अहिलेसम्म सम्पर्कमा छैनन्। मंगलबार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोले व्यापक क्षति पुर्याएको छ । हेलम्बुमा र मेलम्चीमा गरी पाँचवटा पुल बगेका छन्। त्यस्तै तीनबटा झोलुङे पुल र सडकहरु पनि भत्किएका छन्।

यातायात, विद्युत र सम्पर्क पुर्णरुपमा विच्छेद भएको स्थानियको भनाइ छ। मंगलबार अपरान्ह इन्द्रावती नदीमा बाढीआएको र पाचँपोखरी गाउँपालिकाको एउटा बजारलाई बाढीले क्षति पुर्याएपछि पुनः नजिकैको विद्युतगृहमा क्षति पुगेको थियो । यस्तै, बेलुका पुनः मेलम्ची नदीलाई पहिरोले थुनेको र इन्द्रावतीको बाढी र मेलम्चीको बाढीले थुनिएको ठाउँ फुट्दा पानीको वहाव बढेको र ठूलो मात्रामा धनजनको क्षति भएको अध्यक्ष तामाङको भनाइ छ।

अहिले पनि मेलम्चीमा पानीको बहाव घटेकोे छैन। बहाव वस्तीतिर पस्यो भने थप क्षति हुन सक्ने भएकाले सतर्कता अपनाउन विपद् व्यवस्थापन विभागले आग्रह गरेको छ। मेलम्ची मात्र नभएर गण्डकी प्रदेशका ११ जिल्लामा लगातार परेको वर्षाका कारण बाढी, पहिरोले घर, वस्ती र सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको छ। 

सबैभन्दा बढी मनाङ, लमजुङ, म्याग्दीमा क्षति पुर्याएको स्थानिय प्रशासनले जानकारी गराएका छन्। वर्षाका कारण मनाङ सदरमुकाम चामे मंगलबार बिहानैदेखि डुवानमा परेको र लमजुङ र म्याग्दीमा पनि पहिरोले धेरै घर बगाएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ। 

मनाङको मर्स्याङदी नदीमा पानीको बहाव बढ्दा नासों गाउँपालिका–१ तालगाउँका ४८ घर डुबानमा परेका छन् भने ६० परिवार विस्थापित भएका छन् । त्यस्तै चामे बजारको ६ घर बाढीले बगाएको छ। यता लमजुङको दोर्दी खोलामा आएको बाढीले दोर्दी गाउँपालिका–८ हिलेबजारको १५ घर बगाएको गाउँपालीकाले एक विज्ञप्तिमार्फत जनाएको छ। 

यता बागलुङमा पनि विभिन्न ठाउँमा अविरल वर्षका कारण क्षति पुगेको छ । करीब १५ परिवार विस्थापित भएका छन् । त्यहाँ जैमिनी–७ सेतीढुंगाका ९ घरमा क्षति पुगेको प्राभम्कि तथ्यांक बाहिर आएको छ। यता अविरल वर्षाका कारण नारायणी नदीको वहाव बढ्दा नवलपुर गैँडाकोट नगरपालिका–२ बोटे टोलका १ सय ५० परिवार उच्च जोखिममा परेको प्रहरीले जनाएको छ। 

यसैगरि कोशी नदीमा पनि पानीको वहाव बढेकोले कोशी नदी आसपासका क्षेत्रमा सर्तकता अपनाउन निर्देशन दिइएको छ। पूर्वी पहाडी जिल्लाहरुमा पनि अविरल बर्षा भइरहेकाले प्रदेश १ भरि जिल्ला प्रशासन कार्यालयले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ। 

यसैबीच देशभर प्राकृतिक विपत्तिका घटना बढेपछि राजनीतिक तल, स्थानिय प्रशासन, सुरक्षा निकायसहित सरकारले पनि सक्रियता बढाएको छ। मनसुनको पहिलो हप्तामा नै बाढी र पहिरोले वितण्ड मच्चाएपछि अबका दिनमा अझ कस्तो अवस्था आउने हो, अहिले नै पुर्वानुमान गर्न नसकिने बताउँछन्, पहिरो विज्ञ डा. कृष्ण देवकोटा । मनसुनको सुरुवाती दिनमै बाढी, पहिरो र ढुवानको जोखिम क्षेत्र पहिचान गरेर सुरक्षित स्थानमा स्थानान्तरण नहुने हो भने अझ बढी क्षति हुने अनुमान गर्न सकिने देवकोटा बताउँछन्। 

नेपाल भूकम्पले थलिएको मुलुक भएकोले पहिरो कति पानी पर्दा कति जान्छ भन्ने यकिन गर्न नसकिने भएकाले क्षतीको अनुमान गर्न पनि असहज हुने विज्ञ डा. देवकोटाको भनाइ छ। 

Skip This
Skip This
Logo