अवैध कारोबार गर्ने चिनियाँ गिरोह पक्राउ

अवैध कारोबार गर्ने चिनियाँ गिरोह पक्राउ

केन्द्रबिन्दु
0
Shares

दुर्लभ वन्यजन्तुको अखेटोपहारको अवैध कारोबार र जुवातास सट्टेबाजीमा संलग्न चिनियाँ गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। 

महानगरीय प्रहरी परिसर टेकु र वृत्त लैनचौरवाट खटिएको टोलीले काठमाडौं महानगरपालिका वडा नं. १७ ज्याठा गल्लीभित्रको चीनका नागरिकले सञ्चालन गरेको एक होटलबाट चिनियाँ नागरिकहरुलाई पक्राउ गरेको हो। पक्राउ परेका चिनियाँ नागरिकहरुले दुर्लभ वन्यजन्तुको अखेटोपहारको अवैध कारोबार र सम्पत्ती हारजित हुने गरि जुवातास सट्टाबाजी खेलाइरहेको अवस्थामा चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको प्रहरीले बताएको छ। 

प्रहरीले पक्राउ परेका व्यक्तिहरुबाट जुवातास खेल्न प्रयोग गरेका विद्युतीय टेबल २ थान, जुवातास खेल्न प्रयोग हुने चाइनिज भाषा माजुङ बताउने प्लाष्टिकको गोटी ४१० थान, नगद ८ लाख ८९ हजार १५५ रुपैयाँ, विभिन्न कम्पनीका मोबाइल ७ थान, बाघको छाला जस्तो देखिने वस्तु १ थान, गाईको छाला जस्तो देखिने वस्तु १ थान, कस्तुरीको बिना जस्तो देखिने वस्तु २० थान, बुद्वचित्त ९०० थान, रुद्राक्ष अन्दाजी २० किलोग्राम बरामद गरेको छ। 

यस्तै उनीहरुको साथबाट राहधानी २ थान, चीनका विभिन्न बैंकहरुको एटिएम कार्ड ३५ थान, भौचर पाना (लेखिएका) २५० थान, भौचर पाना (नलेखिएका) ६८ थान, बाघको दाँत जस्तो देखिने वस्तु २ थान, फलामको धारिलो खुकुरी २ थान र फलामको धारिलो तरबार १ थान बरामद भएको पनि प्रहरी वरिष्ठ उपरिक्षक अशोक सिंहले जानकारी दिए।

पक्राउ परेका चिनियाँ नागरिकहरुको प्रहरीवृत्त लैनचौरवाट थप अनुसन्धान कार्य भइरहेको बताएको छ। त्यस्तै प्रहरीले पत्रकार सम्मेलनमा धारिलो हतियार प्रयोग गरी ज्यान मारेको अभियोगमा पक्राउ परेका ३ (तीन) जनालाई पनि सार्वजनिक गरेको छ।

असार २० गते महोत्तरी जलेश्वर नपा वडा नं. २ घर भई हाल काठमाडौं जिल्ला चन्द्रागिरि नपा वडा नं. ३ थानकोट मंगलोदय स्कुल नजिक बस्ने २० वर्षिय जितेन्द्र साहलाई हत्या गर्ने चन्द्रागिरि नपा वडा नं. ३ थानकोट बस्ने ३६ वर्षिय सोमलाल गोपाली, मकवानपुर दामन–९ घर भई चन्द्रागिरी नपा १ दहचोक बस्ने २५ वर्षिय मनोज दोङ तामाङ र चन्द्रागिरी नपा–८ मातातिर्थबाट साहिल गोपालीलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले बताएको छ।

Logo