नेपाल ल्याइएकाे ‘जोनसन एन्ड जोनसन’ खोपबारे सरकारले अनुसन्धान गर्ने

नेपाल ल्याइएकाे ‘जोनसन एन्ड जोनसन’ खोपबारे सरकारले अनुसन्धान गर्ने

केन्द्रबिन्दु
0
Shares

अमेरिकाको औषधिसम्बन्धी नियामक निकायले जोनसन एन्ड जोनसनको खोपले स्नायु प्रणालीसम्बन्धी एक प्रकारको दुर्लभ अवस्थाको जोखिम बढाउन सक्ने चेतावनी दिएपछि अमेरिकी अनुदानमा सोमवार नेपाल भित्रिएको उक्त खोपबारे सरकारी संयन्त्रहरूले 'अनुसन्धान गर्ने' स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका एक अधिकारीले बताएका छन्।

अमेरिकाको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडीए) ले स्नायु प्रणाली शिथिल हुने 'गीयाङ बारे सिन्ड्रोम' भनिने अवस्था उक्त खोप लगाएका कारण आउन सक्ने सम्भावना न्यून रहेको उल्लेख गरेको छ।

जोनसन एन्ड जोनसन खोप लगाएका व्यक्तिमा अमेरिकाको कुल जनसङ्ख्याको तुलनामा उक्त समस्या विकसित हुने सम्भावना तीनदेखि पाँच प्रतिशतभन्दा बढी रहेको अधिकारीहरूलाई उद्धृत गर्दै द न्यूयोर्क टाइम्सले जनाएको छ।

अमेरिकामा झन्डै एक करोड २८ लाख व्यक्तिले जोनसन एन्ड जोनसनको खोप लगाइसकेका छन्।
भारतबाट कोभिशील्ड खोप नआएकाले पहिलो मात्रा लगाएका १३ लाख जनाभन्दा बढीले दोस्रो मात्रा पाएका छैनन्

सङ्घीय अनुगमन प्रणालीबाट उक्त खोप लगाएका व्यक्तिमध्ये १०० जनामा गीयाङ बारे सिन्ड्रोम देखिएको र तीमध्ये ९५ प्रतिशत गम्भीर स्थितिमा रहेको तथा बिरामीलाई अस्पतालमा भर्ना गर्नुपरेको एफडीएले जनाएको छ।

तर उक्त निकायले अहिलेसम्म उपलब्ध प्रमाणले जोनसन एन्ड जोनसनको खोप र गीयाङ बारे सिन्ड्रोमको जोखिमबीच सम्बन्ध रहेको देखाए पनि 'प्रत्यक्ष सम्बन्ध रहेको स्थापित गर्ने आधार नदेखिएको' जनाएको छ।

उसका अनुसार जोनसन एन्ड जोनसनको खोपबाट थाहा पाइएका र सम्भावित जोखिमभन्दा त्यसले दिने सम्भावित लाभ बढी रहेको देखिन्छ।

गियाङ बारे सिन्ड्रोम के हो?
मानव शरीरको प्रतिरक्षा प्रणालीले स्नायुसम्बन्धी कोषलाई क्षति पुर्‍याएपछि त्यसले मांसपेशीलाई कमजोर बनाउँछ तथा बेलाबेलामा पक्षाघात हुँदा गीयाङ बारे सिन्ड्रोम देखा पर्ने एफडीएले उल्लेख गरेको छ।

संयुक्त राज्य अमेरिकामा प्रत्येक वर्ष प्रति १० लाख व्यक्तिमध्ये झन्डै १० जनालाई यो समस्या देखा परेको तथ्याङ्क छ। गम्भीर लक्षण विकसित भए पनि यो अवस्थाबाट धेरै जना निको हुने बताइन्छ। कोभिड-१९ लागेका व्यक्तिमा पनि यो अवस्था देखा परेको द न्यूयोर्क टाइम्सले जनाएको छ।

यसअघि गीयाङ बारे सिन्ड्रोमलाई १९७६ को स्वाइन फ्लूको खोप र अरू रुघाखोकीका खोपसँग पनि जोडेर हेर्ने गरिएको थियो। कतिपय अध्ययनले खोप नभई रुघाखोकीका कारण मानिसमा उक्त अवस्था विकास हुने दाबी पनि गरेका छन्।

जोनसन एन्ड जोनसनले आफ्नो खोपबाट त्यस्तो अवस्था आउने सम्भावना एकदमै कम रहेको भन्दै अहिले सार्वजनिक भएको सङ्ख्या अपेक्षा गरिएको दरभन्दा थोरै बढी भएको जनाएको छ।

एउटा मात्रा मात्रै लगाए पुग्ने उक्त खोपलाई विश्व स्वास्थ्य सङ्गठनसहित ५५ देशमा आपत्कालीन प्रयोगको अनुमति रहेको कोभिड १९ भ्याक्सीन ट्र्याकर नामक वेबसाइटमा उल्लेख छ।

जोनसन एन्ड जोनसनको कोभिड खोपबारे नेपाली अधिकारीहरू के भन्छन्?

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका एक जना अधिकारीले अमेरिकी सरकारी निकायले जारीको गरेको चेतावनीबारे आफूहरू जानकार रहेको बताएका छन्।

मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर रोशन पोखरेल भन्छन्, "यसमा हाम्रो खोप समितिले हेर्छ। अरू ठाउँमा यो खोप प्रयोग भइरहेको छ र अहिले भनिएको जोखिम ठूलो पनि होइन।"

स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागले जोनसन एन्ड जोनसनको खोप पहिलो मात्रा लगाउन बाँकी रहेका ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्तिहरूलाई दिने निर्णय गरेको छ।

त्यसबाहेक अपाङ्गता भएका व्यक्ति, नेपालमा बसिरहेका शरणार्थी र यसअघिको अभियानमा छुटेका स्वास्थ्यकर्मी र सफाइकर्मीलाई उक्त खोप मङ्गलवारबाटै दिने व्यवस्था मिलाउन विभागले आफू मातहतका स्वास्थ्य निकायलाई निर्देशन दिएको थियो।

काठमाडाैंमा साउन ४ देखि साउन ६ गतेसम्म जोनसन एन्ड जोनसनको खोप वितरण गर्ने सूचना मङ्गलवार काठमाडाैं जिल्ला प्रशासन कार्यालयले जारी गरेको थियो।बीबीसीबाट

Logo