तनहुँ । गरिबीले गर्दा तनहुँको एक परिवार ओडारमा बस्न बाध्य भएको छ । ओडारमा बस्ने परिवारमा मनवीर गुरुङ, उनकी श्रीमती उदाशिया, छोरा २० वर्षीय गणेश र १३ वर्षीया छोरी पूजा रहेका छन् । लामो समय लकडाउन हुँदा ज्याला मजदूरी गर्न नपाएको र कोठा भाडा तिर्न नसकेपछि कोठा छाडेर ओढारमा बास बस्नुपरेको उनीहरु बताउँछन् । मनवीरको परिवार व्यास नगरपालिका–२ अमरापुरीस्थित बुल्दीखोला किनारमा रहेको ओडारमा गत बिहीबारदेखि बस्दै आएका छन् । कोभिड–१९ को संक्रमणका कारण गरिएको लकडाउन र निषेधाज्ञाका कारण काम गर्न नपाएपछि समस्या भएको मनवीरले बताए । ‘दैनिक ज्यालादारीमा भारी बोक्नेलगायतका काम गरेर जीवनयापन गरेका थियौँ तर हाल भनेको बेला काम नपाइएकाले ओडारमा बस्नुपरेको छ’–मनवीरकी श्रीमती उदाशियाले भनिन् ।
उनीहरु स्थानीय मोतीकुमार जोशीको घरमा डेरा गरी बस्दै आएका थिए । उनीहरु आम्दानी नभएकाले लामो समयदेखि भाडा तिर्न नसक्दा कोठा छाड्न बाध्य भएका हुन् । चार जनाको परिवारमध्ये एक जना शारीरिक अपाङ्गतासमेत रहेकाले उनीहरुलाई बिहान बेलुकाको छाँक टार्न थप समस्या परेको पुल्चोक टोल विकास संस्थाका अध्यक्ष कर्णबहादुर खड्काले जानकारी दिए । उनकाअनुसार आर्थिक विपन्नताले उदाशिया गुरुङका परिवार गुफामा आएर बस्न बाध्य भएका हुन् ।
स्थानीयवासीले दिएको अन्नको भरमा उनीहरुको जीवन चलिरहेको उदाशिया बताउँछिन् । ओडारमा बसेका परिवारलाई उद्धार गर्नुपर्ने स्थानीयवासीको भनाइ छ । ‘जङ्गली जीवन बिताउँदै आएका कुसुण्डा, राउटेले जङ्गल छाडिसके तर उनीहरु ओडारमा बसेपछि हामीलाई नरमाइलो लागिरहेको छ’–पुल्चोक निवासी डा. एचबी क्षेत्रीले भने–‘उद्धारको लागि सरकारको विशेष ध्यान जान जरुरी छ ।’
गरिबीले गर्दा छोरीको पढाइ पनि अवरुद्ध भएको सोही ठाउँकी राधा बस्न्यातले जानकारी दिइन् । उनले भनिन्–‘पूजा कक्षा ६ मा पढ्थिन्, उनीमा पढ्ने रहर थियो तर कापी र कलम किन्ने पैसा नभएकाले पढाइ अधुरो भएको छ ।’ शारीरिक रुपमा अशक्त भएकाले काम गर्न नसक्ने अवस्थामा छन् । गणेशको नागरिकता बनाएर अपाङ्गता परिचयपत्र दिलाउने प्रयास भइरहेको टोल विकास संस्थाले जनाएको छ ।–रासस





























प्रतिक्रिया