मेलम्चीका बाढीपीडित फेरि विस्थापितः भन्छन्, ‘पालमा जीवन गुजार्न गाह्रो भयो’

मेलम्चीका बाढीपीडित फेरि विस्थापितः भन्छन्, ‘पालमा जीवन गुजार्न गाह्रो भयो’

केन्द्रबिन्दु
0
Shares

भ्रेमाथाङमा गत असार १ मा बाढीसँगै आएको पहिरोले क्षति पुर्याएको ४७ दिनपछि मेलम्ची खोलामा फेरि बाढी आएर २० घर र  करोडाैं मूल्यका खेत बगाएको छ। बिस्तारै सामान्य स्थितिमा आउन लागेका हेलम्बु र मेलम्चीका बाढीपीडित फेरि विस्थापित भएका छन्।

हेलम्बु–१ का आशा लामा भन्छिन्,  “बस्ने ठाउँ नभएर होस्टेलमा बसेका थियौँ यहाँ पनि जोखिम बढ्यो अब कहाँ बस्ने ?” उनीजस्तै ९० परिवारको घर असार १ को पहिराेले पूर्ण क्षति भएर पाल, टहरा र आफन्तकामा आश्रय लिएर बसेका छन्। हेलम्बुकै सरस्वती मगर घाम र पानीका बेला पालमा जीवन गुर्जान गाह्रो  भएको गुनासो गर्छिन्।

मेलम्ची बजारवासीको पनि उस्तै पीडा छ। केही आफ्ना घर पसल सफा गरी सरिसकेका थिए तर शनिबारको बाढीपछि उनीहरु फेरि सुरक्षित स्थानतर्फ लागेका छन्। शनिबार रातिदेखि आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका २० घरटहरा बगाएको छ। बाढीले रेडियो मेलम्चीको भवन पनि बगाएको छ। पक्की र कच्ची गरी २० घर टहरा बगाएको र तीन घर डुबेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए।

उनका अनुसार असार १ गते आएको भीषण बाढीले लेदो भरिएका घर फेरी गएरातिको बाढीले बगाएको हो। ती घर खाली थिए। बाढीले चनौटेको रातो पुल बगाएको छ। स्थानीय हस्त पण्डितले दिएको जानकारीअनुसार राति ७ः४५ बजे पुल बगाएको हो।  मेलम्ची–७ र ८ पाँचपोखरी–१ र २ र हेलम्बुका धेरै वडा जोड्ने एकमात्र विकल्पको यो पुल थियो। पुल बगाएसँगै अब यो भेगमा सवारी साधानको आवतजावत बन्द भएको छ।

त्यस्तै ग्यालथुमको एउटा झोलुङ्गे पुल बगाएको छ। बाढीले धार परिवर्तन गरेर तालामाराङ प्रहरी चौकीको भान्छा पनि बगाएको छ । अहिले ग्याल्थुमका ४० घर जोखिममा परेका छन् ।अब मेलम्ची बजारदेखिमाथि कुनै पुल बाँकी नरहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले जानकारी दिए। खोलामा लेदोसहितको बाढी आएको र “बाढी घट्ने, बढ्ने भइरहेको उनको भनाइ थियो । 

हेलम्बु राजमार्गका विभिन्न स्थानमा पहिरो जाँदा मेलम्चीबाट हेलम्बुमा सवारीसाधन जान नसकेको त्यहाँका नगरप्रमुख डम्बर अर्यालले जानकारी दिए।

बजारवासी आन्दोलित

नगरपालिकाले नदी नियन्त्रण गरी बस्ती जोगाउन चासो नदिएको भन्दै मेलम्ची बजारवासी आन्दोलित भएका छन्। आइतबार उनीहरुले नगरप्रमुख र त्यहाँका पदाधिकारी नदी नियन्त्रण गरी बस्ती जोगाउन उदासिन रहेको भन्दै नाराबाजी गरे। बाढी आएको दिनदेखि नगरका प्रतिनिधि आफ्नो क्षतिग्रस्त बस्तीमा नआएको स्थानीय बाढी प्रभावित एवं मेलम्ची पुनःनिर्माण समितिका अगुवा सागर श्रेष्ठले बताए।   
 
जोखिम घटने स्थिति छैनः शेर्पा

बाढीग्रस्त क्षेत्रको मुहान हेलिकप्टरमार्फत पुगेर अनुगमन गरी काठमाडौँ फर्किएका गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले तत्काल पहिरोको जोखिम घटने स्थिति नभएको बताए। 

मेलम्ची करिडोरका बासिन्दालाई तत्काल अन्यत्र सुरक्षित ठाउँमा सार्नुको विकल्प नभएको उनको भनाइ थियो। लेदो भीमथाङबाट बग्नेक्रम जारी छ, वैकल्पिक बसोबासका लागि म प्रयासरत छु,  यही क्रममा गृहमन्त्रीसँग वस्तुस्थितिको जानकारी गराइसकेको छु। “प्रधानमन्त्रीसँग समेत भेटेर जानकारी गराउनेछु”, उनले भने। त्यहाँको पहिरो रोक्नका लागि सरकारले विज्ञ पठाएर अनुसन्धान गर्नुपर्ने उनको माग थियो।

विज्ञसहितको टोली भेम्राथाङ पठाइने

गृहमन्त्री बालकृष्ण खाँणले मेलम्ची नदीमा आएको भीषण बाढी र पहिरोबारे अध्ययन गर्न विज्ञको टोली पहिरो उद्गमस्थल भ्रेमाथाङ पठाउन निर्देशन दिएका छन्।

बाग्मती प्रदेशसभा सदस्य निमा लामाका अनुसार पहिरोको उद्गमस्थल पुगेर त्यहाँको अवस्थाबारे अध्ययन गर्न राष्ट्रिय विपद् व्यवस्थापन न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेललाई गृहमन्त्री खाँणले बिहानै निर्देशन दिएका हुन्।

चनौटेमा तत्काल बेलिवृज निर्माण गरिने
     
हेलम्बु गाउँपालिकालाई सडक सञ्जालसँग जोड्ने चनौटेको रातोपुलको स्थानमा तत्काल बेलिब्रिज निर्माण गरिने भएको छ। बाढीले आइतबार बिहान सो पुल बगाएको थियो।
  
नेपाली काँग्रेसका नेता तथा पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नेपाल सरकारको सहयोगमा तत्काल आवतजावतका लागि सहजीकरण गर्ने उद्देश्यले बेलिब्रिज निर्माणका लागि पहल गरिने बताएका हुन्। बाढीबाट भएको क्षतिबारे प्रधानमन्त्री तथा गृहमन्त्रीलाई जानकारी गराइएको बताउँदै उनले तत्काल पुल निर्माण सुरु गरिने प्रतिबद्धता व्यक्त गरे।रासस

Logo