बालिका बलात्कारको कसुरमा दोषी ठहर गर्दै नुवाकोट जिल्ला अदालतले विदुर नपा–१२ का १९ वर्षीय केदार पौडेललाई १२ वर्ष कैद सजायको फैसला गरेको छ।
जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले आरोपित पौडेललाई बलात्कारको कसुरमा दोषी ठहर गर्दै सो फैसला गरेको अदालतका श्रेस्तेदार इन्द्रकुमार खड्काले जानकारी दिए। उनका अनुसार पौडेलबाट पीडित बालिकालाई रु ५० हजार क्षतिपूर्ति भराउनसमेत फैसला भएको हो।
पौडेलले ०७७ वैशाख ३० गते बेलकोटगढी नपा–५ स्थित एक ओडारमा बोलाई १५ वर्षीया किशोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ। घटनाको अर्को दिन जिल्ला प्रहरी कार्यालयमा पौडेलविरुद्ध उजुरी दर्ता भएको थियो।
स्थानीयवासीले उनलाई बालिका बलात्कार गरेको स्थानबाटै नियन्त्रणमा लिई कारवाहीका लागि प्रहरीमा बुझाएका थिए। जिल्ला अदालतले ०७७ जेठ २५ गते पौडेललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।रासस





























प्रतिक्रिया