लामो अन्तरमा खोप लगाए पनि प्रभावकारी हुने स्वास्थ्य मन्त्रालयकाे दाबी

लामो अन्तरमा खोप लगाए पनि प्रभावकारी हुने स्वास्थ्य मन्त्रालयकाे दाबी

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले धेरै समयका अन्तरमा कोरोना भाइरसविरुद्धको खोप लगाउँदा पनि प्रभावकारी हुने जनाएको छ। मन्त्रालयले ‘कोभिशिल्ड’ खोपको पहिलो मात्रा लगाएको लामो समयका अन्तरमा अहिले ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा लगाउन थालिएकाले उक्त  खोपले काम गर्ने स्पष्ट पारेको छ। 

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले ‘कोभिशिल्ड’ को पहिलो मात्रा लगाएको करिब पाँच महिनापछि दोस्रो मात्रा लगाए पनि खोपले काम गर्ने जानकारी दिए। गत फागुन २३ देखि चैत १० गतेसम्म ६५ वर्ष माथिका उमेर समूहका करिब साढे १४ लाख व्यक्तिलाई सो खोपको पहिलो मात्रा  लगाएकामा अहिले करिब पाँच महिनापछि  ‘एस्ट्राजेनिका’ खोपको दोस्रो मात्रा दिइएको छ। 

“कोभिशिल्ड/एस्ट्राजेनिका खोप लगाउँदा दुई मात्रा बीचको अन्तराल दुईदेखि तीन महिना हुन्छ भनिएकामा अहिले पाँच महिनापछि दोस्रो मात्रा दिएको छ,” उनले भने, “यसबीच भएका अध्ययनले पहिलो मात्राले पनि काम गरिरहने र धेरै समयको अन्तरालमा दोस्रो मात्रा लगाउँदा पनि प्रभावकारी हुने देखिएका छन्।”

उनले पहिलो मात्रा र दोस्रो मात्राको अन्तराल पाँच महिनाको भए पनि खोपले प्रभावकारीरुपमा काम गर्ने भएकाले ढुक्क भएर ‘एस्ट्राजेनिका’ खोपको दोस्रो मात्र लगाउन अनुरोध गरेका छन्। 

भूटानबाट दुई लाख ३० हजार र जापानबाट पाँच लाख १३ हजार मात्रा ‘एस्ट्राजेनिका’ खोप आइसकेपछि मन्त्रालयले कोभिशिल्डको सट्टामा ‘एस्ट्राजेनिका’ खोप लगाएको हो। 

उनले कोभिशिल्ड र एस्ट्राजेनिका खोप एउटै कम्पनी  र एउटै फर्मुलामा बनेकाले लगाउन केही फरक नपर्ने भएकाले कोभिशिल्डको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो मात्राका रुपमा एस्ट्राजेनिका लगाइएको जानकारी दिए। हालसम्म ४६ लाख ५९ हजार चार सय १४ पहिलो मात्रा र ३२ लाख २३ हजार ६ सय ९३  जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन्।

Skip This
Skip This
Logo