मेलम्ची र हेलम्बुमा विपदको मुख्य कारण जलवायु परिवर्तनः अध्ययन

मेलम्ची र हेलम्बुमा विपदको मुख्य कारण जलवायु परिवर्तनः अध्ययन

केन्द्रबिन्दु
0
Shares

विज्ञहरुले सिन्धुपाल्चोकस्थित मेलम्ची र त्यस वरपर क्षेत्रमा बाढी आउनुमा जलवायु परिवर्तन मुख्य कारण रहेको औंल्याएका छन्।

मेलम्ची र त्यस वरपरको भौगर्भिक अवस्थाबारे अध्ययन गर्न गएका विज्ञहरुको टोलीले जलवायू परिवर्तनका कारण त्यसक्षेत्रमा विपद आइपरेको प्रारम्भिक निष्कर्ष निकालेका हुन्। आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी भूगर्भविद् डा. राजनकुमार दाहालले तापक्रममा ह्वात्तै वृद्धि भएका कारण त्यसक्षेत्रमा बाढीको विपत्ति आइपरेको अनुसन्धानको क्रममा आफूले पाएको जानकारी दिए। 

उनले माइनस १२ डिग्री सेल्सियस तापक्रम भएको ठाउँमा जलवायु परिवर्तनका कारण ५ डिग्री सेल्सियस तापक्रम हुन जाँदा सो भूगोल पहिरो र बाढीको चपेटामा परेको स्पष्ट पारे । भूगर्भविद् दाहालले भने, ‘जलवायु परिवर्तनका कारण हिउँ हुने ठाउँमा पानी परेको देखिएको छ। यो प्राकृतिक विपत्ति आउनुको मुख्य कारण हो। यसको विस्तृत अध्ययन गरेर समस्या समाधानका लागि केन्द्रित हुनुपर्ने अवस्था छ ।’

भूगर्भविद् दाहालले मेलम्ची र हेलम्बु क्षेत्रमा देखिएको समस्या तत्काल समाधान हुने अवस्थामा नरहेको भन्दै सचेतसमेत गराए। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले हालसम्मका ज्ञान, विज्ञान र स्थानीय अनुभवको आधारमा त्यसक्षेत्रको भूगोलको अध्ययन सुरु गरिएको बताए। उनले ती क्षेत्रहरुको जोखिम न्यूनीकरणका लागि आगामी हिउँदसम्म विस्तृत कार्ययोजना ल्याउने प्रतिवद्धतासमेत व्यक्त गरे।

कार्यक्रममा बोल्दै हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आगामी हिउँदभित्र हेलम्बु र मेलम्चीको बाढीग्रस्त क्षेत्रमा सवारी साधन चल्ने गरी आवश्यक व्यवस्था मिलाउने दावी गर्दै निरास नहुन स्थानीयलाई आग्रह गरे। उनले मेलम्ची र हेलम्बु क्षेत्रको विपद् व्यवस्थापनका लागि आवश्यक कार्यक्रम तत्काल तयार गर्न सरकारको पनि गम्भिर ध्यानाकर्षण गराए।

सरकारले मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीसहितको विपद् आउनुको कारणबारे अनुसन्धान गर्न विज्ञहरुको टोली गठन गरेको थियो । टोलीले स्थलगत अवलोकन गरी तयार पारेको प्रारम्भिक प्रतिवेदनमा सो क्षेत्रमा तत्काल बाढी, पहिरोको समस्या समाधान हुने अवस्था नरहेको उल्लेख गरिएको छ।

Logo