अफगानिस्तानबाट १२७ जना नेपाली मंगलबार स्वदेश फर्किएका छन् । तिनीहरुलाई होल्डिङ सेन्टरमा राखिने भएको छ।
अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि त्यहाँस्थित अमेरिकी दूतावासमा रहेका १२७ जना नेपालीलाई अमेरिकी सरकारले उद्धार गरेर नेपाल पठाएको हो ।
नेपाल फर्काइएका सबैलाई नेपाली सेनाले क्वारेन्टाइनका लागि सामाखुसीस्थित राधास्वामी सत्संग लगेको छ । त्यहाँ आरटीपीसीआर परीक्षणपछि क्वारेन्टाइनको अवधि सकिएसँगै उनीहरुलाई घर पठाउने सरकारको योजना छ ।
अफगानिस्तानबाट स्वदेश फर्किएका नागरिकहरुले अमेरिकी दूतावासमा रहेका कारण आफूहरुलाई समस्या नभएको प्रतिक्रिया दिएका छन् । धनगढीका कृष्ण तामाङ बाहिर समस्या भए पनि अमेरिकी दूतावासमा कुनै समस्या नभएकोले गाह्रो नभएको जनाए ।
अफगानिस्तानमा ३ वर्षदेखि काम गरेर स्वदेश फर्किएका अर्का नेपाली प्रकाश श्रेष्ठले बाहिरको अवस्था असहज रहेको बताए । त्यस्तै स्याङ्जाका इन्द्र पौडेलले आफू एम्बेसीमा रहेकोले बाहिरका नेपाली साथीहरुको बारेमा खासै जानकारी नरहेको जनाए । उनले नेपाल सरकारले अफगानिस्तानमा रहेका सबै नेपालीहरुलाई स्वदेश ल्याउने पहल गरिदिए राम्रो हुने धारणा राख्छन्।
पौडेलले काबुलमा आफू बाध्यताले जानु परेको भन्दै त्यस्तो ठाउँमा नजाँदा नै राम्रो हुने सल्लाह दिन्छन्। अफगानिस्तानमा तालिबानले सत्ता लिएपछि त्यहाँ रहेका विदेशीहरु स्वदेश फर्किने क्रम जारी छ ।































