२० वर्षदेखि फरार २१ सहित दुई सय ८९ अभियुक्त पक्राउ

२० वर्षदेखि फरार २१ सहित दुई सय ८९ अभियुक्त पक्राउ

केन्द्रबिन्दु
0
Shares

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले दुई सय ८९ फरार अभियुक्त पक्राउ गरेको छ। प्रहरीले साउनको अन्तिम सातादेखि फरार अभियुक्त नियन्त्रणमा लिने अभियानकै रुपमा सुरुवात गरेको थियो। 

अभियानका क्रममा पुराना फाइल निकालेर फरार अभियुक्तको सूची तयार गरी मातहातका इलाका प्रहरी कार्यालयलाई पत्राचार गरिएको थियो। यसक्रममा पक्राउ परेका मध्ये २० वर्षदेखि फरार २१ जना, १५ वर्षदेखि फरार २९ जना र १० वर्षदेखि फरार ९१ जना रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दान बहादुर कार्कीले बताए। 

पक्राउ परेका सबैको ५० वर्ष पाँच महिना १९ दिन कैद असुल उपर गर्न बाँकी रहेको छ। यसैगरी १४ लाख ११ हजार चार सय ६ रुपैयाँ जरिमाना असुल उपर गर्न बाँकी रहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए। 

सबै फरार अभियुक्तलाई दुई महिनाभित्र पक्राउ गर्ने गरी अभियान सञ्चालन गरिएको छ। जिल्लामा एक हजारभन्दा वढी फरार अभियुक्त रहेको प्रहरीसँग तथ्यांक रहेको छ।

अभियान अन्तर्गत १४ वर्ष अगाडि कपिलवस्तु जवाभारी २ ( हाल शिवराज ७) महालक्ष्मी सुगर मिल कम्पाउन्डमा गोली हानेर फरार रहेका अभियुक्तलाईसमेत पक्राउ गरेको छ। पक्राउ पर्नेमा विजयनगर गाउँपालिका–३ का ३४ वर्षीय बालजी चौधरी, शिवराज नगरपालिका–१० का शहवाज आलम खाँ पक्राउ परेका छन् । दुवैले मिलेर सुगर मिलमा उखु खरिद गर्दै गर्दा विजयनगर गाउँपालिका–७ का ४८ वर्षीय प्रकाश नारायण श्रेष्ठको गोली हानी हत्या गरेका थिए। 

यसैगरी ०६५ सालमा  शिवराज ५ शिवपुरका विश्वनाथ यादवलाई गोली हानी हत्या गर्ने शिवराज–७ का असलम मुसलमानलाईसमेत पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक जगन्ननाथ मरासीनीले बताए ।न्युज कारखानाबाट

Logo