कसले हेर्ने हाम्रो पीडा ?

कसले हेर्ने हाम्रो पीडा ?

केन्द्रबिन्दु
0
Shares

गत वर्ष पहिरो जाँदा शितगंगा नगरपालिकाका ११ र १२ का दुईवटा गाउँनै भासिएपछि एक सय सात घरधुरीमध्ये २७ घर परिवारको पूर्णरुपमा क्षति भएर घरबारविहीन बन्न पुगे पनि राज्यबाट उचित व्यवस्थापन हुन सकेको छैन। शितगंगा नगरपालिका–११ को ढुगेसरा गाउँका जनता यतिबेला निकै त्रासमा छन्। गत वर्ष नै गाउँमाथिबाट पहिरो खसेपछि उनीहरुको बिचल्ली भएको हो। 

गत वर्षको पहिरोमा नौ घर पूर्णरुपमा क्षति भएको थियो भने दर्जनौँ घरहरुमा सामान्य क्षति भयो र धेरै घर जोखिममा परे। सरकारी अधिकारीदेखि जनप्रतिनिधिहरु पहिरोबाट भएको क्षति हेर्न त्यहाँ पुगे। वडा अध्यक्ष, मेयर, प्रदेश सांसददेखि मन्त्रीहरु पुगेर पीडितहरुलाई आश्वासन पनि दिए। तर, उनीहरुको समस्या समाधानमा कसैले गम्भीर भएर चासो दिएनन्।

तत्कालीन समयमै भूगर्भविदसहितका प्राविधिक टोलीले वडा नम्बर १२ को जोख्ले गैरा र ११ को ढुगेसरा जोखिम क्षेत्र भन्दै बसोबासका लागि योग्य नभएको बताएका थिए। केही समय आफन्तकोमा बसेका पीडितहरु पछि सोही गाउँमा फर्किए। अहिले पनि माथिबाट जमिन भासिन थालेको वडा नम्बर ११ का वडा सदस्य गणेश पुलामीले बताए। 

गाउँको सिरानमा गत वर्ष जस्तै बिस्तारै जमिन भासिन थालेकोले झनै जोखिम बढेको पुलामीले बताए। गत वर्ष वडा नम्बर ११ र १२ का २७ घर पहिरोले बगायो भने एक सय नौ घरहरु जोखिममा परे पनि उनीहरुको बस्ती व्यवस्थापनमा सरकार एक वर्षदेखि उदासिन हुँदा जोख्ले गैराका  अधिकांस कपिलवस्तुका विभिन्न स्थानमा गएर बसेका छन्। 

घरबारविहीन भएका पीडितहरुलाई पूर्वमन्त्री टोपबहादुर रायमाझीले अस्थायी टेन्ट वितरण गरेर फर्किए। तर, वन कार्यालयले टेन्ट जफत गरेर उनीहरुलाई त्यहाँबाट लखेटेपछि कुनै नेताहरु फर्केर त्यहाँ नपुगेको स्थानीयहरुको गुनासो छ।

गत वर्ष बचेका घरहरु अहिले जोखिममा पर्न थालेका छन्। पहिरो फेरि जान सुरु गरेपछि वडा नम्बर ११ ढुंगेसराका सात घर अहिले जोखिममा परेका छन्। इलाका प्रहरी कार्यालय ठाडाकाअनुसार अहिलेको पहिरोले तीन घर पहिरोबाट बिस्तापित बनेका छन् भने चार घर र प्राथमिक स्वास्थ चौकी पहिरोको जोखिममा छन्।

शितगंगा नगरपालिकाका नगरप्रमुख सूर्यप्रसाद अधिकारीले विभिन्न स्थानमा एकीकृत बस्तीका लागि पीडितहरुलाइ अनुरोध गरे पनि सबै एकमत भएर जान नमानेपछि स्थानीय तहलाई जग्गा व्यवस्थापनमा समस्या भएको बताए। नगरपालिका क्षेत्रमा खुला, सरकारी जग्गा नै नभएकोले व्यवस्थापन गर्न समस्या भएको नगर प्रमुख अधिकारीले बताए।न्युज कारखानाबाट

Skip This
Skip This
Logo