बृद्धाश्रमका ज्येष्ठ नागरिकको चिन्ताः नागरिकता नपाई मरिन्छ कि ?

बृद्धाश्रमका ज्येष्ठ नागरिकको चिन्ताः नागरिकता नपाई मरिन्छ कि ?

केन्द्रबिन्दु
0
Shares

पोखरा वृद्धाश्रममा आश्रित छ ज्येष्ठ नागरिकलाई यतिखेर एउटै चिन्ताले सताउने गरेको छ, नेपालको नागरिक नभई मरिन्छ कि भन्ने । 

उमेरले जीवनको उत्तरार्ध अवस्थासम्म पनि आफ्नो नाममा नागरिकता प्रमाणपत्र नहुँदा उनीहरु चिन्तित भएका हुन्। 

पोखराको नयाँ बजार घर भएकी ८० वर्षीया फुलमाया भुजेल राम्रोसँग बोल्न र सुन्न सक्ने अवस्थामा छैनिन् । एक दशकदेखि पोखरा वृद्धाश्रममा बस्दै आएकी उनको नागरिकता छैन ।

आफन्तले सहारा दिने कोही नभएर नै वृद्धाश्रम पुगेकी भुजेललाई नागरिकता नपाउँदा थप चिन्तित बनाएको छ । भन्छिन्, ‘आफू नेपाली नागरिक भएर पनि नागरिक नभए जस्तो लागिरहेको छ ।’

लमजुङको राइनास मोहोरियाकोट जन्मस्थान भई घर परिवारको मायाबाट वञ्चित ७८ वर्षीय हरिबहादुर थापा विगत आठ वर्षदेखि वृद्धाश्रममा बस्दै आएका छन् । ‘बाह्र छोरा तेह्र नाति बुढाएको धोक्रो काँधै माथि’ भनेजस्तै श्रीमती, एक छोरा र दुई छोरीका यी अभिभावक यतिखेर आफन्तविहीन जस्तो भएर वृद्धाश्रममा बस्न बाध्य छन् ।

आफूले सक्दो उमेरसम्म तीनै छोराछोरी र श्रीमतीको लागि भारतमा मजदुरी गरेको स्मरण गर्दै उनले अहिले पक्षघात भई अशक्त भएका अवस्थामा वृद्धाश्रमको सहारा खोज्नु परेको दुःखेसो पोखे । उमेर हुने अवस्थासम्म भारतको मजदुरी नै महत्वपूर्ण भयो, नागरिकता बनाउने सोंच नै बनेन । परिवारबाट अपहेलित  अहिले राज्यबाट पनि नागरिकता नपाएर हेपिएको महसुुस भएको बताउँछन्।

त्यस्तै वृद्धाश्रममा आश्रित पर्वतको देउपुरका ६० वर्षीय राम गुरुङ, नवलपुरका रामचन्द्र चौधरी, नारायण ठकुरी, धनबहादुर गुरुङको पनि नागरिकता छैन । उनीहरु आश्रममा पुग्ने जोकोहीसँग पनि नागरिकता प्रमाणपत्र बनाइदिन आग्रह गर्छन् ।

वृद्धाश्रमका अध्यक्ष कुशुमकेशव पराजुलीकाअनुसार जिल्ला प्रशासन कार्यालय कास्कीबाट प्रमुख जिल्ला अधिकारीको पहलमा यसअघि १० आमाबुबाको नागरिकताको प्रमाणपत्र बनाइएको जानकारी दिए । बाँकी को पनि नागरिकता निकाल्न पहल भइरहेको बताए । रासस
 

Logo