कन्सुलर सेवा विभागले विदेश जान आवश्यक पर्ने प्रहरी प्रतिवेदन प्रमाणपत्रको प्रमाणीकरणका निम्ति विभागमा लाम लाग्नु नपर्ने व्यवस्था गरेको छ ।
यही भदौ १३ गते आइतबारदेखि लागू हुने गरी विभागले प्रहरी प्रतिवेदनको प्रमाणीकरण विद्युतीय माध्यमबाट मात्र गरिने व्यवस्था मिलाइएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
सेवाग्राहीलाई सहज एवं सरल रूपमा सेवा प्रवाह गर्न विभागले ‘अनलाइन’ प्रणाली सुरु गरेको विभागका महानिर्देशक धनबहादुर ओलीले बताए । अनलाइनमार्फत विभागको वेबसाइटमा गएर अनलाइन आवेदन गर्न सकिने छ ।
भरेको आवेदन स्वीकृत भएपछि तत्काल सेवाग्राहीले आवेदनमा भरेको मोबाइलमा सन्देश प्रवाह हुने र प्राप्त सन्देशका आधारमा सेवाग्राहीले राजश्व रकम पनि अनलाइनबाटै बुझाउन सक्ने प्रबन्ध गरिएको जानकारी ओलीले दिए।
कनेक्ट आइपिएसबाट सोझै विद्युतीय भुक्तानी वा देशभरका ग्लोबल आइएमई बैंकका शाखामार्फत भौतिक रूपमा पनि राजश्व दाखिला गर्न सकिने महानिर्देशक ओलीले बताए।
ताप्लेजुङदेखि दार्चुलासम्मका सेवाग्राहीलाई पहिलो चरणमा ‘पुलिस क्लियरेन्स सर्टिफिकेट’ प्रमाणीकरणको व्यवस्था अनलाइनबाट गरिएको छ । विभागका अन्य सेवालाई पनि क्रमशः विद्युतीय प्रणाालीमा लैजाने परराष्ट्र मन्त्रालयको नीति छ ।
अनलाइन प्रणालीले फर्जी कागजात बन्ने जोखिम पनि पूर्णरूप हट्ने विश्वास लिइएको छ ।































प्रतिक्रिया