नेपाल–चीनबीचको उत्तरी सीमा अध्ययन टोली सिमकोटमा

नेपाल–चीनबीचको उत्तरी सीमा अध्ययन टोली सिमकोटमा

केन्द्रबिन्दु
0
Shares

नेपाल–चीनबीच विवाद हुँदै आएको हुम्लाको उत्तरी नाकाको सीमा अध्ययनका गठन गरिएको अध्ययन टोली शनिबार जिल्लाको सिमकोट पुगेको छ । 

टोलीले चीनसँग जोडिएका हुम्लाका १५ वटा सीमास्तभमध्ये १३ वटा सीमास्तम्भको अध्ययन गर्ने भएको छ । 

मौसमले साथ दिएमा १५ वटै स्तम्भको अध्ययन गरिने तर मौसमले साथ नदिएमा १३ वटा मात्रै स्तम्भको अध्ययन गरिने प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए । 

गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्य नेतृत्वसहितको सात जनाको टोली आज हुम्ला पुगेको हो । टोलीमा सहसचिव आचार्य, नापी विभागका उपमहानिर्देशक सुशील डङ्गोल र सोही विभागले तोकेको दुई विज्ञ तथा नेपाल प्रहरीका अधिकारीसहित सात जना रहेको प्रमुख जिल्ला अधिकारी आर्चायले जानकारी दिए । 

अध्ययन टोलीले चीनसँग जोडिएका हुम्लाका सिमानाको अध्ययन गरिसकेपछि मात्रै चीनले सीमा मिचे नमिचेको निष्कर्ष निकाल्ने प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । 

गत वर्ष नाम्खा गाउँपालिका–६ लिमिको लोलुङजोङमा चीनले निर्माण गरेका भवन नेपाली भूमिमा भएको खबर सार्वजनिक भएपछि पहिलो पटक सरकारी टोली स्थलगत अध्ययनका लागि हुम्ला पुगेको थियो । 

गत वर्ष हुम्लामा पर्ने नेपाली क्षेत्रमा चिनियाँ पक्षले सीमा मिचेर केही संरचनाहरू निर्माण गरेको भन्ने विवाद उत्पन्न भएको थियो ।

यही भदौ १७ गते मन्त्रिपरिषद्ले हुम्लाको नाम्खा गाउँपालिका–६ लिमी र त्यस आसपासका क्षेत्रमा चीनले सिमाना मिचेको विषयमा स्थलगत अध्ययन गर्न समिति गठन गरेको थियो । 

टोलीले हुम्ला आइपुगेपछि जिल्लाका राजनीतिक दल, स्थानीय प्रशासक, नागरिक समाज, जनप्रतिनिधिलगायतसंग सीमाका सम्बन्धमा छलफल गर्ने छ । रासस
 

Skip This
Skip This
Logo