संरचना विना बञ्चरेडाँडामा फोहोर फाल्ने तयारीः स्थानीयको आपत्ति

संरचना विना बञ्चरेडाँडामा फोहोर फाल्ने तयारीः स्थानीयको आपत्ति

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको फोहोर बिसर्जनका लागि तयार पारिँदै आएको बञ्चरे डाँडामा फोहोर व्यवस्थापन गर्न मिल्ने संरचना बनि नसकेको भन्दै त्यहाँका स्थानीयले आपत्ति जनाएका छन् । 

सरकारी निकायहरुले बञ्चरे डाँडामा फोहोर बिसर्जनका लागि तयार भइसकेको र फोहोर फाल्न मिल्ने बताएपछि आवश्यक संरचना नै नबनाइ फोहोर फाल्न लागिएको भन्दै स्थानीयहरुले आपत्ति जनाएका हुन् । 

स्थानीय सनत उप्रेतीले भवन निर्माण विभागले बन्दै नबनेको संरचना बनेको भनेर गलत प्रचार गरिरहेको भन्दै त्यसको प्रतिवादमा स्थानीयहरु एकजुट हुने बताए ।

उप्रेतीले सरकार र त्यहाँका स्थानीयहरुबीच स्थानीयलाई रोजगारीको सिर्जना गर्नुपर्ने, ७ सय स्थानीय घरहरुको व्यवस्थापन सरकारले गरिदिनुपर्ने, अधिकार सम्पन्न समिति बनाइनुपर्ने, फोहोरलाई उद्योगमा लैजानुपर्ने, कोल्पुखोला न्यूनिकरण गर्नुपर्ने लगायतका माग पूरा नहोउन्जेल बञ्चरे डाँडामा फोहोर फाल्न नदिने बताए ।

त्यस्तै अर्का स्थानीय पुष्कर उप्रेतीले सरकारले फोहोरले असर गर्ने ठाउँसम्मको जग्गा अधिग्रहण नगरेको भन्दै आपत्ति जनाए । उनले तत्काल यसले असर नगरेपनि पछि गएर स्थानीयहरुलाई धेरै असहज परिस्थिति सिर्जना हुने बताए । 

त्यस्तै शहरी विकास तथा भवन निर्माण विभागका ल्याण्डफिल्ड साइटका सुपरभाइजर ध्रुवप्रसाद धिमालले फोहोर फाल्नको लागि सेल वान र सेल टू भन्ने दुईवटा स्थान रहेको भन्दै सेल वान मात्र तयार भएको जानकारी दिए । उनले फोहोर खसाल्न तयारी भइसकेको र नगरपालिकालाई यसबारे जानकारी दिइसकेकोले फोहोर फाल्न मिल्ने बताए ।

विश्व सरसफाइ अभियन्ता राजमान मानवले फोहोरको कारण नेपालको छविमा अन्तर्राष्ट्रिय स्तरमै दाग लागेको बताए । उनले सुन्दर उपत्यकालाई व्यवहार, सोच र राज्यको गैरजिम्मेवारीले काठमाडौं फोहोर भइरहेको जनाए ।

सरकारले काठमाडौंको फोहोर व्यवस्थापनका लागि अहिलेसम्म नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्याण्डफिल्ड साइटमा बिसर्जन गरिरहेपनि त्यहाँ राख्ने स्थान नहुँदा अर्को स्थानका रुपमा बञ्चरे डाँडालाई बिसर्जनको गन्तव्य बनाएको छ । तर आवश्यक संरचना नै निर्माण नगरी सरकारी पक्षले फोहोर फाल्न लागेको भन्दै स्थानीयहरुले त्यसको बिरोध गरिरहेका छन् । 

 
 

 

Skip This
Logo