खोटाङ-काठमाडौं आउजाउ गर्ने राजमार्गका विभिन्न खण्डमा खसेको पहिरो पन्छाएपछि यातायात सेवा सूचारु भएको छ।
३१ असोजदेखि २ कात्तिकसम्म परेको वर्षाका कारण राजमार्गका विभिन्न खण्डमा खसेको पहिरो पन्छाएपछि दिक्तेल–काठमाडौं यातायात निर्वाध सूचारु भएको हो। पहिरो पन्छाइएपछि काठमाडौंबाट ओखलढुंगा र सोलुखुम्बु आवतजावत गर्ने सवारी साधनसमेत निर्वाध गुड्न थालेका छन्। सडकमा थुप्रिएको पहिरो पन्छाएर सवारीसाधन वारपार गर्ने वातावरण बनाइए पनि सडकलाई पूर्णरुपमा ‘क्लियर’ गर्न बाँकी रहेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए।
वर्षाका कारण खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको कदुवा, सिन्धुलीको नागथान, कालीआँप, हैवारलगायतका स्थानमा पहिरो खस्दा सडक अवरुद्ध बनेको थियो। खुर्कोट नजिक पर्ने हैवारमा विशाल पहिरो खस्दा २-३ कात्तिकको साँझसम्म यात्रु तथा मालबाहक सवारी साधन रोकिँदा हजारौं यात्रु सडकमै अलपत्र परेका थिए। हैवारमा पहिरो खस्दा खोटाङसहित ओखलढुंगा र सोलुखुम्बुका यात्रु थुनिएका थिए। हैवारमा पटक–पटक पहिरो खस्ने गरेको छ।
हैवारमा गएको पहिरोले दुई दिनसम्म बाटो थुनेपछि कतिपय यात्रु तथा मालबाहक सवारी साधन सिन्धुली–उदयपुरको कटारी–घुर्मी हुँदै ओहोर–दोहोर गरेका थिए। घुमाउरो बाटो प्रयोग गर्दा कम्तिमा १२० किलोमिटर घुम्नु परेको यातायात व्यवसायीले बताएका छन्। कदुवामा ३ कात्तिकमा पन्छाइएको पहिरो पुन: खसेपछि ४ कात्तिक विहान पन्छाएर सडक सूचारु गराइएको हो।
साँघुरो सडक भएको तथा छोटो दुरीमा घुम्ती भएका कारण वर्षा याममा बढिमात्रामा सडकमा पहिरो खस्ने गरेको महासचिव हिङमाङले बताए। ‘पहिरो खसेको ठाउँमा ट्रयाक खोलियो तर अझै पनि जोखिम छ। सडक पूर्णरुपमा क्लियर गरिएको छैन,’ महासचिव हिङमाङले भने, ‘सडक चौडा नहुनु र नजिक–नजिक टर्निङ भएका कारण पहिरोले बढि क्षति पुर्याएको हो। छोटो टर्निङमा माथिबाट पहिरो खस्दा तल्लो टर्निङ पनि बिगारेको देखिन्छ।’































प्रतिक्रिया