महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका विभिन्न स्थानबाट हराएका २३ मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। आज हस्तान्तरण गरिएका २३ मध्ये १५ वटा मोटरसाइकल र ८ वटा स्कुटर रहेका छन्।
उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई न्युनिकरण एवं नियन्त्रण गर्न ट्राफिक प्रहरीले विशेष टोली परिचालन गरेको छ। सवारी धनीले ट्राफिक महाशाखामा दिएको हुलिया निवेदनका आधारमा टोलीले मोटरसाइकल खोजतलास गरि सम्बन्धित धनीलाई बुझाउने गरेको छ भने चोरीमा संलग्नहरुलाई नियन्त्रणमा लिई कारबाही गर्दै आएको छ।
महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले हराएका मोटरसाइकल खोजतलास एवं चोरी नियन्त्रण गर्न निरन्तर लागिपरेका बताउँदै मोटरसाइकल हराउनै नदिनका लागि सबैको सहयोग र हातेमालोको खाँचो भएकाे र विशेषगरि सवारी धनी थप सजक एवं जिम्मेवार हुनुपर्ने कुरामा जोड दिए।
यस आर्थिक वर्षमा हराएका ३८७ मोटरसाइकल मध्ये १७१ मोटरसाइकल नियन्त्रणमा लिई १६८ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ।
मोटरसाइकल चोरीमा संलग्न १९ जनालाई चोरीका मोटरसाइकलसहित सम्बन्धित प्रहरी बृत्तहरुमा कारबाहीका लागि पठाएको समेत महशाखाले जनाएको छ।































प्रतिक्रिया