कुकुरले टोकेको भैँसीको मासु खाँदा १४० जना बिरामी

कुकुरले टोकेको भैँसीको मासु खाँदा १४० जना बिरामी

केन्द्रबिन्दु
0
Shares

रुपन्देहीमा बिरामी भैँसीको मासु खाँदा करिब १४० जना बिरामी परेका छन् । सैनामैना नगरपालिका–७ देउवापारमा बिरामी परेको भैँसीको मासु पकाएर खाँदा १४० जना एकसाथ बिरामी परेपछि गाउँ नै त्रसित बनेको छ ।

कुकुरले टोकेर बिरामी परेको भैँसीको मासु काटेर खाँदा सैनामैना–७ देउवापारस्थित स्मृति टोलमा स्थानीय बिरामी पर्न थालेपछि गाउँमा रेबिज संक्रमणको त्रास फैलिएको हो ।

गत १९ असोज घटस्थापनाका दिन सैनामैना-८ पिपलडाँडा ठूलीओकाली निवासी एक स्थानीयसँग स्मृति टोलका केही व्यक्ति भैँसी खरिद गरी काटेर गाउँमा मासु बिक्री गरेका थिए । १९ असोजमा घटना भए पनि अहिले स्थानीय बिरामी पर्न थालेपछि मात्र सो घटना सार्वजनिक भएको हो ।

सैनामैना-७ का वडा अध्यक्ष डिलाराम बेल्बासेका अनुसार घटस्थापनाका दिन स्मृति टोल निवासी दुई व्यक्तिले पिपलडाँडाबाट भैँसी ल्याई काटेर बिक्री गरेका थिए । सो भैँसीको मासु स्मृति टोलसँगै सैनामैना-८ र कञ्चन गाउँपालिका–१ का गरी १४० जनाले पकाएर खाएका थिए ।

भैँसीलाई कुकुरले टोकेको केही दिनदेखि बिरामी परेको र स्मृति टोलका केही व्यक्तिले छालाको लागि भनेर सो भैँसी खरिद गरी काटेर गाउँमा मासु बिक्री गरेको पाइएको वडा अध्यक्ष बेल्वासेले जानकारी दिए । उनले भने, 'भैँसीलाई कुकुरले टोकेको केही दिनदेखि बिरामी परेको रहेछ । उहाँहरुले हामीले छाला मात्र प्रयोग गर्छौँ भनी उक्त भैँसी मालिकको घरबाट ल्याउनुभएछ र गाउँमा काटेर बिक्री गर्नुभएको रहेछ ।'

बिरामी भैँसीको मासु खानेमा बच्चादेखि वृद्धसम्म छन् । अस्वस्थ मासु बिक्री वितरण गरेको हुनाले उनीहरूलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय सालझण्डीलाई अनुरोध गरिसकेको वडाध्यक्ष बेल बासेको भनाइ छ । घटना सार्वजनिक भएपछि सैनामैना नगरपालिकाले स्मृति टोलका ७० जनालाई रेबिज विरुद्धको खोप लगाइएको छ ।

यसबारे नगरपालिकाले तत्कालै लुम्बिनी प्रदेश सरकार र संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा खोपको पहल गरी ७० जनालाई खोप लगाइएको नगर प्रमुख चित्रबहादुर कार्कीको भनाइ छ । नगर स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थीका अनुसार कुल १४० मध्ये मासु काटेका र नपाकेको मासु छोएका ७० जनालाई रेबिज विरुद्धको पहिलो खोप दिइएको हो ।  न्युज कारखाना

Logo