२० वर्षअघि सुकेको मुहानबाट पानी निस्कँदा स्थानीय खुसी

२० वर्षअघि सुकेको मुहानबाट पानी निस्कँदा स्थानीय खुसी

केन्द्रबिन्दु
0
Shares

सात गाउँपालिका रहेको हुम्ला जिल्लाको दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिका ३ रोकाया गाउँमा मुहान सुकेको २० वर्षपछि खानेपानी निस्किँदा स्थानीय खुसी भएका छन्।

खानेपानी सुकेको लामो समय भएको भए पनि हुम्लामा धेरै वर्षा भएका कारण २० वर्षदेखि सुकेको मुहानमा पानी निस्किएको स्थानीय धन्दे पार्कीले बताए।

विगतका केही वर्षदेखि अदानचुली गाउँपालिकामा खानेपानीको हाहाकार हुने गरेको र अहिले मुहान सुकेको २० वर्षपछि छरिटापाटा धलपुरको मुहानमा पानी निस्केको र पानीले ठूलो राहत गरेको वडा नम्बर ३ का अध्यक्ष दत्त विष्टले बताए।

अदानचुली गाउँपालिकाको केन्द्रमा रहेको रोकाया गाउँभन्दा १० मिनेटको दूरीमा रहेको मुहानमा पानी निस्किएपछि स्थानीयले अस्थायी पाइप जडान गरेर धारा निर्माण गरेको प्रमद बोगटीले बताए।

मुहानको पानीबाट तीन सय घरधुरी लाभान्वित भएका छन्। पानी आउन थालेपछि अब स्थानीयलाई खानेपानी, कपडा धुन र पशुवस्तुलाई पिलाउन सहज भएको हो।

मुहानबाट आएको पानी स्थानीयले निर्माण गरेको अस्थायी पाइपको धारामा खसेपछि अदानचुली रोकाया गाउँवासीले खुसीयाली मनाएका छन्। 

Logo