खल्लो तिहार मनाउँदै डडेल्धुराका पहिरो पीडित

खल्लो तिहार मनाउँदै डडेल्धुराका पहिरो पीडित

केन्द्रबिन्दु
0
Shares

डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३ सकायलस्थित गुएलीखेत गाउँका स्थानीयको तिहार खल्लो बनेको छ। गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म परेको अविरल वर्षाले गरेको क्षतिका कारण उनीहरूको तिहार खल्लो बनेको हो। 

तिहारको माहौल छ। तर, गुएलीखेत गाउँका नागरिकलाई भने तिहारले छोएको छैन। अविरल वर्षाले यहाँको २०/२५ परिवारको खेतीयोग्य जमिन बगरमा परिणत भएपछि गाउँ नै चिन्तित छ। 

तिहार लागे पनि आफूहरूलाई तिहारको रौनकले नछोएको स्थानीय सावित्री अवस्थी बताउँछिन्। खेती योग्य जमिन बगरमा परिणत भएपछि साँझ बिहानको छाक कसरी टार्ने भन्दै पिरोल्न थालेको उनको दुःखेसो छ। 

‘न खेत रह्यो न त घर नै। प्रधानमन्त्री शेरबहादुर देउवादेखि गृहमन्त्री बालकृष्ण खाणसम्म आइपुग्दा हामीहरूले राहत समेत पाएनौं,’ स्थानीय जमुना देउवा भनिन्।

राहतको आशा आफूलाई नभएको र आफ्नो बगरमा परिणत भएको खेतको बालुवा स्काभेटर लगाएर खेती योग्य जमिनमा परिणत गरिदिन उनको माग छ।  

२०/२५ परिवारको ३५ रोपनी जमिन बगरमा परिणत बनाएको स्थानीय विश्वनाथ अवस्थीको भनाइ छ। ‘बुधबार गृहमन्त्री खाँण आए पनि क्षतिको अनुगमन गरेनन्। अब राहतको के आशा राख्नु। टाठाबाठा बाहेक वास्तविक पीडित मन्त्रीको न कुरा सुने न त अनुहार नै देखे,’ उनले भने।

Logo