लुम्बिनीमा पर्यटक आवागमनमा सडकको अवस्था बाधक

लुम्बिनीमा पर्यटक आवागमनमा सडकको अवस्था बाधक

केन्द्रबिन्दु
0
Shares

कोरोना संक्रमणको जोखिम कम भएसँगै लुम्बिनी क्षेत्रमा आन्तरिक/बाह्य पर्यटकको आवागमन बढ्ने अनुमानलाई सडकको अवस्थाले बिथोलेको छ।

लुम्बिनी क्षेत्रसम्म पुग्ने सडक मार्गहरूमा मर्मत र बिस्तारको काम चलिरहेकोले लुम्बिनी क्षेत्रमा आन्तरिक/बाह्य पर्यटकको आवागमनलाई सडकको अवस्थाले बिथोलेको हो। नारायणगढ हुँदै लुम्बिनी पुग्ने पूर्वपश्चिम राजमार्गको बिस्तारको काम भइरहेको छ भने भैरहवा लुम्बिनी सडक खण्डको मर्मत सम्भार भइरहेको छ। सडकको अवस्थाले पर्यटकीय मौसममा पनि लुम्बिनी क्षेत्रका होटल पर्यटन व्यवसायीले लाभ लिन सकेका छैनन्। 

काठमाडौं बाहिरका धेरै पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको घुइँचो बढ्दा लुम्बिनी क्षेत्र सामान्यमै रहेको छ। लुम्बिनी होटल संघका महासचिव पुरुषोत्तम अर्यालले लुम्बिनी क्षेत्रको १५ प्रतिशत होटल मात्रै सञ्चालनमा आउन सकेको बताएका छन्। विगतमा दसैँ र तिहारको बीचमा लुम्बिनी क्षेत्र घुम्न आउने पर्यटक धेरै भएर सेवा दिन भ्याइ नभ्याई हुने गरेको तर यो वर्ष खासै पर्यटक नआएको महासचिव अर्यालले बताए।

महासचिव अर्यालले भने, ‘लुम्बिनीमा दसैँपछि पर्यटकको आगमन, चहलपहल सुरु भएको छ, होटलहरु १५ प्रतिशत मात्रै राम्रोसँग चलिरहेका छन्, त्यही पनि शून्यमा रहेको व्यवसाय १५ प्रतिशतमा पुग्यो, बिस्तारै तिहारपछि अघि जाला भन्ने अनुमान छ, सिजन त आउँदै छ तर पनि हामीले विदेशी पाहुनाहरूको आगमनको अपेक्षा छैन, आन्तरिक पर्यटक बढ्नुहुन्छ कि भन्ने आशा राखेका छौँ, विद्यार्थी, संघ/संस्था, लगायतको आगमन केही मात्रामा बढ्नुहुनेछ भन्ने आशा गरेका छौँ, आशावादी छौँ तर सन्तुष्ट हुने अवस्था छैन, यो वर्ष हामी पुरै पीडित नै छौँ, गत वर्षतिरको व्यापार हेर्दा दसैँ र तिहारको बिचमा धेरै व्यापार हुन्थ्यो, सेप्टेम्बरपछि अन्तर्राष्ट्रिय पर्यटकहरूको पनि आगमनको सुरुवात हुने गर्दथ्यो, पहिला यो बीचमा पसल बन्द गर्ने कि नगर्ने भन्ने कुरामा हामी दोधारमा हुन्थ्यौँ, तर यसपालि त्यस्तो देखिएन, लुम्बिनी कोरोनाबाट मुक्त छ भनेर प्रस्टसँग भन्न सक्छौँ, सरकारले पनि आवश्यकताअनुसार कोभिड भ्याक्सिन पठाएको थियो ।’

लुम्बिनीलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले पनि सिधा जोड्दै छ र आन्तरिक पर्यटक पनि थपिँदै जाने निश्चित छ। यस्तो अवस्थामा अविलम्व सडक सुधार गर्नु पर्ने आवश्यक्ता रहेको व्यवसायीहरूले बताएका छन्। यसका साथै लुम्बिनीलाई कोरोना मुक्त क्षेत्र भनेर विश्वभर सन्देश दिन सके पर्यटक बढ्ने निश्चित छ।

Logo