लैंगिक हिंसाविरुद्धको अभियान २०२१ सुरु

लैंगिक हिंसाविरुद्धको अभियान २०२१ सुरु


‘घर र समाजको ऐक्यबद्धता, लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलता’ भन्ने नारासहित नेपालमा ३० औँ अन्तर्राष्ट्रिय १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियान २०२१ सुरु भएको छ ।

बिहीबार काठमाडौंको माइतीघरबाट महिलाको निम्ति महिला मञ्च नेपाल, नेपाल महिला एकता समाज लगायतका संघ–संस्थाहरुले नेपालमा ३० औँ अन्तर्राष्ट्रिय १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियान २०२१ सुरु गरेका हुन् । अभियानमा सहभागीहरूले महिलाहरूमाथि कुनै पनि  लैङ्गिक विभेद हुनु नहुने बताएका छन् । उनीहरूले महिला आन्दोलनबाट प्राप्त गरेका अधिकारलाई सम्मान गर्दै आगामी दिनमा अझ बढी संघर्ष गर्नुपर्ने तर्फ सचेत गराउनलाई १६ दिने महिला हिंसाविरुद्धको अभियान सुरु गर्नु परेको बताए । समाजमा महिलाहरूलाई हेर्ने दृष्टिकोण परिवर्तन नहुँदा घरभित्रै हिंसाको विकराल अवस्था सिर्जना भइरहेको पनि उनीहरूको भनाइ छ । कार्यक्रममा सहभागी बनेकाहरूले महिला हिंसाको मुद्दालाई अहिलेसम्म महिलाको मुद्दको रूपमा मात्रै हेरिएको भन्दै यसलाई समान मुद्दाको रूपमा हेरिनु पर्ने माग गरेका छन् ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले कानुन शब्दमा बलियो भए पनि कार्यान्वयनमा फितलो भएको भन्दै महिलाहरूको हक सुरक्षित गर्नका लागि कार्यान्वयनमा लैजान सुझाव दिएका छन् । उनीहरूले कानुनको कार्यान्वयन गरेर महिला हक, हित र रोजगारी सिर्जना गरेपछि मात्रै महिलाहरू समान हुनसक्ने बताए । समाज परिवर्तन गर्न भनेर लागिरहँदा आफ्नो घर र परिवारमा आफूले महिलाहरूमाथि गरिरहेको व्यवहार कस्तो छ भनेर सोच्न र महिलालाई सम्मान गर्दै आफूले पढेका कुराहरू व्यवहारमा लागू गर्न सके समाज परिवर्तन हुन समय नलाग्ने उनीहरूको भनाइ छ ।

उनीहरूले महिलाको नेतृत्व स्वीकार गर्,महिला दोस्रो दर्जाका होइनन्, सबै मिली गरौँ प्रतिकार, कसैले अब नसहौँ बलात्कार, मेरो आमा महिनावारी नभएको भए म जन्मने थिइनँ, आमालाई दोस्रो दर्जाको रूपमा राख्न पाइन्न लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । 

Logo