यस वर्षको ‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार केशवप्रसाद पौडेललाई प्रदान गरिने भएको छ। विजयबाबु खत्रीको दशौं स्मृति दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा नेपाल समाचार केन्द्र प्रालिकी अध्यक्ष लक्ष्मी श्रेष्ठ खत्रीले पत्रकार पौडेललाई पुरस्कृत गर्ने निर्णय भएको जानकारी दिइन्।
पत्रकार पौडेल २०४२ सालदेखि पत्रकारितामा सक्रिय छन्। हाल उनी न्यु स्पटलाइट पाक्षिक म्यागजिनका प्रकाशक र सम्पादक हुन्। काठमाडौं–३२, कोटेश्वरका स्थायी वासिन्दा उनी सन् २००६ मा ‘डेभलपिङ एसिया जर्नालिज्म अवार्ड’बाट सम्मानित भएका थिए। खेलकुद बिटको समाचार लेखनबाट पत्रकारिताको सुरुवाती गरेका पौडेल पछिल्लो समय विकास र आर्थिक विषयवस्तुमा कलम चलाउँछन्।
पुरस्कार छनोटका लागि नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल र नेपाल समाचार केन्द्र प्रालिका अध्यक्ष खत्रीसहितको समिति गठन भएको थियो। सोही समितिले पत्रकार पौडेललाई तेस्रो विजयबाबु स्मृति पत्रकारिता पुरस्कार दिने निर्णय गरेको हो।
आर्थिक पत्रकारितामा सक्रिय रहँदारहँदै २०६८ साल मंसिर १२ गते रुपन्देहीको सालझन्डीमा भएको सडक दुर्घटनामा परी ३४ वर्षको उमेरमा विजयबाबु खत्रीको निधन भएको थियो । स्वर्गीय खत्रीको स्मृतिमा उनकी धर्मपत्नी लक्ष्मी श्रेष्ठ खत्रीले ०७५ मंसिर १२ गते अक्षय कोष स्थापना गरेकी हुन् । सोही अक्षय कोषमार्फत केन्द्रले हरेक वर्ष पुरस्कार प्रदान गर्दै आएको छ । केन्द्रद्वारा सञ्चालित न्युजकारोबार डटकमको पाँचौं वार्षिकोत्सवको अवसरमा मंसिर २४ गते पुरस्कार प्रदान गरिने छ। पुरस्कारको राशि ३४ हजार रुपैयाँ छ।
विजयबाबु पत्रकारिता पुरस्कारबाट पहिलो वर्ष ध्रुवहरि अधिकारी र दोस्रो वर्ष स्वर्गीय गोकर्ण गौतम पुरस्कृत भएका थिए।





























प्रतिक्रिया