उखु खेतीमा आधुनिक प्रविधि प्रयोग गरी बेलौरी नगरपालिकाको हात्तीबोझाका किसान असारेराम वडायकले मनग्ये आम्दानी गर्दै आएका छन् । विगत पाँच वर्षदेखि निरन्तर उखुको उत्पादनमा लागेका उनले वार्षिक रु २४ लाख आम्दानी गर्दै आएका छन् । “प्रविधिको प्रयोगमा जोड दिइएपछि प्रतिवर्ष रु दुई लाखदेखि रु तीन लाखका दरले आम्दानी बढ्दै गएको छ” वडायकले भने, “इन्टरनेटको माध्यमबाट विश्वमा उखु खेतीका लागि भएका नौला प्रयोगबारे अध्ययन गरी उखु खेतीलाई अगाडि बढाउँदै आएको छु ।”
छ बिघा जग्गामा प्रतिबिघा दुई हजार क्वीन्टलका दरले उखु उत्पादन गर्दै आएका उनी भारतको महाराष्ट्रका उखु उत्पादक किसानले सामाजिक सञ्जाल फेसबुकमा बनाएको समूहमा समेत जोडिएका छन् । उखु उत्पादनका लागि भारतीय किसानले जुन विधि अपनाउँछन् त्यही विधि यहाँ लागु गर्दै आएको वडायकले बताए ।
“उखु रोप्नका लागि बेर्ना प्रविधि (सिंगल वर्ड) अपनाएको छु” उनले भने, “परम्परागत तरिकाले उखु रोप्दा ८० क्वीन्टल बढी बीउ लाग्ने ठाउँमा बेर्ना प्रविधि अपनाउँदा १० क्वीन्टल बीउ मात्रै लाग्ने गरेको छ ।”
वडायकले उखु रोप्नका लागि ट्याक्टरमार्फत ट्रेन्च बनाई घरमै तयार गरिएको उखुको बेर्ना उपकरणको सहायताले रोप्नाका साथै गोडमेल, पात काट्ने, सिँचाई गर्ने, मल राख्ने विषादी छर्कने कार्यसमेत गर्दै आएका छन्। भारतबाट ल्याइएका बढी उत्पादन दिने विभिन्न जातका उखुको बीउको प्रयोग गर्दै आएका उनले पुराना उखुका जातको तुलनामा भारतीय वैज्ञानिकले तयार गरेका उखुका जात बढी अग्लो हुने र तौल समेत बढी हुनाका साथै आम्दानीसमेत त्यही अनुसारको हुने गरेको बताए ।
“यस वर्ष उखुको उत्पादन राम्रो रहेकाले उत्पादन गत वर्षको तुलनामा दोब्बरले बढी हुन्छ । आम्दानीसमेत त्यही अनुरूप हुन्छ, ” वडायकले भने ‘‘उखु उत्पादनमा लागेका किसानलाई सरकाले अनुदान र विश्वमा भैरहेका उखु खेती सम्बन्धी नयाँ तरिकाहरू सिकाउन जरुरी छ। नयाँ प्रविधि किसानलाई सिकाएर उत्पादन बढाउन सके मात्रै उखुमा आत्मनिर्भर बन्न सक्छौँ ।”
किसानले आधा उखु मिलमा बेचेपछि मात्रै मूल्य निर्धारण गर्नाले किसानलाई नभएर चिनी मिललाई फाइदा पुग्ने उनको भनाइ थियो । वडायक जिल्लाकै सफल उखु किसानका रूपमा परिचित छन् ।































प्रतिक्रिया