पोखरामा जलपंक्षीको गणना थालियो

पोखरामा जलपंक्षीको गणना थालियो

केन्द्रबिन्दु
0
Shares

पोखरा उपत्यकामा मंगलबारदेखि जलपंक्षी गणना सुरु भएको छ। सन् १९८७ देखि वर्षेनि नियमित रूपमा गरिँदै आएको जलपंछी गणना पोखरा उपत्यकामा रहेका तालहरुबाट सुरु गरिएको हो। सन् २००४ बाट पोखरा उपत्यकामा नियमित आधिकारिक गणना र अभिलेख राखिएको छ।

प्रत्येक वर्ष अंग्रेजी महिना जनवरीको पहिलो हप्तादेखि तेस्रो हप्तामा जलपंक्षी गणना गरिन्छ । गणनामा पंक्षी अवलोकन कर्ता, स्थानीय बासिन्दा, सरोकारवाला निकाय, पत्रकार र संरक्षण संघ, संस्थाको सहभागिता छ। 

सिमसारमा आश्रित पानी चराहरूको अवस्था पत्ता लगाउन, संख्या अध्यावधिक गर्न र संरक्षणमा स्थानीय समुदायलाई सहभागी गराउन गणना सुरु गरिएको गण्डकीको वन मन्त्रालयले जनाएको छ।

पहिलो दिन बिजयपुर खोला, कमलपोखरी, गुँदे ताल, खास्टे, न्युरेनी, दिपाङ, मैदी ताल, बेगनास र रुपा तालमा तथा दोस्रो दिन फेवातालमा जलपंछी गणना गरिएको पोखरा पंक्षी समाजका अध्यक्ष तथा गणनाका क्षेत्रीय प्रतिनिधी मनशान्त घिमिरेले जानकारी दिए।

हालसम्म गरिएको गणनामा पोखरा उपत्यकामा ४६ प्रजातिका पानी चराको अभिलेख गरिए पनि बर्षैभरि गरिने अध्ययनमा १०२ प्रजातिका पानी चरा देखिएको उनको भनाइ छ।

‘पोखरा पानी चराका लागि उपयुक्त मौसम र भुगोल छ। यहाँ चराहरु रमाउन सक्छन्,’ उनले भने, ‘विस्तारै मानवीय गतिविधिले जलकुण्डहरु हराएका छन् । चराहरु पनि घट्दै गएका छन् ।’ पोखरामा रैथाने पन्छीसँगै वर्षेनी घुमन्ते पंक्षीहरु समेत विचरण गर्ने गर्छन्।

Logo