हुम्लामा साउनपछि पहिलाे पटक एकैदिन आठ जनामा काेराेना संक्रमण

हुम्लामा साउनपछि पहिलाे पटक एकैदिन आठ जनामा काेराेना संक्रमण

केन्द्रबिन्दु
0
Shares

हुम्लामा कोरोना भाइरसको तेस्रो लहरको परीक्षण सुरु भएकाे छ। जिल्ला अस्पताल हुम्लामा २८ जनाकाे एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएकामा ८ जनामा संक्रमण पुष्टि भएको हाे।

स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहका अनुसार जिल्ला अस्पताल हुम्लामा कार्यरत स्वास्थ्यकर्मी र सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका स्वास्थ्य प्रमुखसहित अस्पतालको सुरक्षामा खटिएका सुरक्षाकर्मी गरि २८ जनामा परीक्षण गरिएकाे थियाे। जसमा तीन पुरुष र पाँच महिलामा संक्रमण पुष्टि भएको हो।

नेपालगञ्ज र सुर्खेत हुम्लाको सिमकोट हवाई यातायातबाट सजिलै जोडिने भएकाले विमानस्थलमा खटिने स्वास्थ्यकर्मीको परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो। संक्रमित आठ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला अस्पताल हुम्लाले जानकारी दिएको छ।

कोरोना संक्रमितलाई सिमकोटस्थित आइसोलेसनमा राख्ने वा होम आइसोलेसनमा पठाउनेबारे छलफल भइरहेको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख सिंहले बताए।

सिमकोटको मुख्य भिडभाड हुने स्थानमा पनि परीक्षण गरिने भएकाे छ। संक्रमितको सम्पर्कमा आएकालाई समेत कन्ट्याक ट्रेसिङ गरिने भएको छ।

गत साउनपछि कोरोना संक्रमित शून्य रहेको हुम्लामा तेस्रो लहरको पहिलो कोरोना संक्रमित फेला परेका हुन्। स्वास्थ्यकर्मीले जिल्लामा रुघाखोकीका बिरामी बढेकाले कोरोना भाइरस परीक्षणको दायरा बढाउनुपर्ने देखिएको बताएका छन्।

कोरोनाको दोस्रो लहरमा तीन हजार १३० जनाको परीक्षण गर्दा ३९९ जनामा संक्रमण देखिएको थियो। सो अवधिमा पाँच जनाको कोरोनाकै कारण मृत्यु भएको थियो।

Logo