सिन्धुपाल्चोकमा खुकुरी प्रहार गरि दुई जनाकाे हत्या गर्ने तामाङ पक्राउ

सिन्धुपाल्चोकमा खुकुरी प्रहार गरि दुई जनाकाे हत्या गर्ने तामाङ पक्राउ

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोक बलेफी गाउँपालिका-७ स्थित माथिल्लो चिम्लिङमा दुई जनाको हत्या आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । हत्या अभियोगमा विजयबहादुर तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी दक्षकुमार बस्नेतले बताए।

आइतबार बेलुका पौने ८ बजेको समयमा तामाङले खुकुरी प्रहार गरि दुई जनाको हत्या गरेकाे प्रहरीले जनाएकाे छ। हत्यापश्चात भागेका उनलाई राति ९ बजे कुलबाध सामुदायिक वनमा लुकिरहेको अवस्थामा प्रहरीले फेला पारेको थियो।

गाउँमा हत्याकाे घटना भएलगत्तै तत्काल प्रहरी चौकी लामोसाँघुबाट प्रहरी नायब निरीक्षक, इलाका प्रहरी कार्यालय बाह्रविसेबाट प्रहरी निरीक्षक तथा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षकको टोली घटनास्थल पुगी अनुसन्धान सुरु गरेको थियो।

प्रारम्भिक सोधपुछमा तामाङले हत्या स्वीकार गरेको तथा स्थानीय व्यक्तिबाट सनाखत गराउँदा उनले नै घटना गराएको भन्ने खुल्न आएको सिन्धुपाल्चोकका सूचना अधिकारी बस्नेतले बताए।

तामाङलाई पक्राउ गरिएको र घटनास्थल, लास जाँच प्रकृति मुचुल्कालगायतको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरि शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको बस्नेतको भनाइ छ। तामाङविरुद्ध धारिलो हतियार खुकुरी प्रहार गरि ज्यान मार्ने उद्योग गरेको कसूरमा इलाका प्रहरी कार्यालय बाह्रबिसेमा मुद्दा दर्ता भएको छ।

Logo