बर्डफ्लु पुष्टि भएपछि चितवनमा कुखुरा नष्ट

बर्डफ्लु पुष्टि भएपछि चितवनमा कुखुरा नष्ट

केन्द्रबिन्दु
0
Shares

भरतपुर महानगरपालिका–८ स्थित महतो पोल्ट्री इन्डस्ट्रिज प्रालिद्वारा सञ्चालित फर्ममा पालिएका  सबै कुखुरा नष्ट गरिएको छ। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले सो फर्मको कुखुरामा बर्डफ्लु पुष्टि भएपछि नष्ट गरेको हो।

केही दिन अघिदेखि कुखुरा मर्न थालेपछि नमूना परीक्षण गरिएको थियो। केन्द्रका निमित्त प्रमुख डा प्रभात न्यौपानेका अनुसार फर्ममा रहेका पाँच हजार ३०५ लेयर्स कुखुरा, १८ हाँस, १०० किलो दाना र १७६ अण्डा नष्ट गरिएको छ। फर्मलाई शिल गरेर नजिकै रहेको एउटा मासु पसल र वरिपरि पालिएका १८ कुखुरासमेत नष्ट गरिएको उनले जानकारी दिए। सो फर्ममा तीन  खोर रहेका थिए।

एउटा खोरमा २१ महिनाका एक हजार ५०० कुखुरा रहेकोमा मरेर ४६ वटा बाँकी रहेका थियो । दोस्रोमा सात महिनाका दुई हजार ४०० कुखुरा राखिएकोमा मरेर २३२ बाँकी रहेका थिए । तेस्रोमा २८ दिनका पाँच हजार १०० कुखुरा राखिएकोमा मरेर पाँच हजार २७ बाँकी रहेको केन्द्रका प्रमुख डा न्यौपानेले जानकारी दिए। 

केही दिनअघि जिल्लाकै राप्ती नगरपालिका–६ मा रहेको अनिता पशुपन्छी कृषि फर्ममा बर्डफ्लु देखिएको थियो । उनले जिल्लामा ठूलो सङ्ख्यामा कुखुरा भएकाले उच्च सावधानी अपनाउन कृषकलाई अनुरोध गरिएको बताए। जिल्लाको पूर्वी र पश्चिम दुवै क्षेत्रमा बर्डफ्लु देखिएपछि कृषकले उच्च सावधानी अपनाउन थालेका छन्।  

Skip This
Skip This
Logo