विदेशी मुद्रासहित एक भारतीयलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ। हिमालय एयरलाइन्सको उडानबाट गए राति मलेसियाको क्वालालम्पुर प्रस्थान गर्न लागेका आरिस नाम गरेका भारतीय नागरिकलाई अवैध विदेशी मुद्रा (३८ हजार ९०० मलेसियन रिङ्गेट) सहित पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान क्षेत्रमा जाँच गर्ने क्रममा उनको झोलाबाट विदेशी मुद्रा बरामद गरिएको हो ।
उक्त विदेशी मुद्रा अवैधरूपमा बाहिरी मुलुक लैजान लागेको फेला पारिएकाले आवश्यक अनुसन्धान एवं कारबाहीका लागि उनलाई बिहीबार राजश्व अनुसन्धान विभाग ललितपुर पठाइएको प्रहरीले जनाएको छ।
बैंकिङ कसुरमा अदालतबाट ६२ लाख जरिवाना ठहर भएका अधिकारी पक्राउ
नेपाल प्रहरीले उच्च अदालत पाटनले ६२ लाख आठ हजार जरिवाना ठहर गरेका एक जनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उच्च अदालत पाटनको ०७८ कात्तिक २९ गतेको फैसलाअनुसार १० दिन कैद र बिगोबमोजिम ६२ लाख आठ हजार जरिवाना ठहर भई फरार रहेका तारकेश्वर नगरपालिका–२ बस्ने ३८ वर्षीय विश्वनाथ अधिकारीलाई बिहीबार पक्राउ गरेको हो ।
आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानीजानी पीडितलाई झुक्यानमा पारेर ०७६ र २०७७ मा नेपाल बैंक लिमिटेड न्यूरोड शाखाको दुईवटा चेक दिएर बैंकिङ कसुर गरेकाले अधिकारीलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ। पक्राउ परेका अधिकारीलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर पेश गरिएको प्रहरीको भनाइ छ।





























प्रतिक्रिया