काभ्रेको तेमाल गाँउपालिका वडा नम्बर ६ मा सञ्चालन भएको एक दिने स्वास्थ्य शिविरमा ३ सयभन्दा धेरै स्थानीयबासीले जाँच गराएका छन् । ३०१ जनाले शिविरबाट सेवा लिएका हुन् । अघिल्लाे हप्ता भएको शिविरमा स्वास्थ्य जाँचका साथै निःशुल्क औषधि वितरण गरिएकाे थियाे ।
काभ्रेको धुलिखेल अस्पतालको प्राविधिक सहयोग र तेमाल गाँउपालिकाको आर्थिक सहयोगमा तेमाल गाउँपालिका वडा नम्बर ६ ले शिविरको आयोजना गरेको हो। शिविरमा धुलिखेल अस्पतालका विशेषज्ञ चिकित्सकसहित १० जनाको टोली खटिएको थियो ।
ठूलो पर्सेल स्वास्थ्य चौकीमा भएको शिविरमा तेमाल गाउँपालिका ६, ७, ८, ९ लगायत विभिन्न स्थानबाट सेवाग्राही आएको वडा नम्बर ६ का अध्यक्ष बिकुलाल तामाङले जानकारी दिए।
आर्थिक रूपले विपन्न आफू जस्ता नागरिकलाई यो शिविरले ठूलो सहयोग गरेको स्थानीय मनमाया मगरले बताइन् । स्त्री रोग, हाडजोर्नीको समस्या लगायतको परीक्षण र औषधि वितरणले यहाँका महिलाहरूलाई धुलिखेल वा काठमाडौँ जानुपर्ने बाध्यता टरेको शिविरमा सहभागी स्थानीयवासीहरूले बताए ।
चिकित्सकहरूका अनुसार शिविरमा आएका अधिकांशमा हाडजोर्नी सम्बन्धी समस्या देखिएको र औषधि वितरण गर्नुका साथै थप समस्या भएमा जाँचका लागि आउन आग्रह गरिएको छ।पाठेघरको क्यान्सरको जाँच गरिएका मध्ये १ जनालाई थप जाँचका लागि अस्पतालमा आउन भनिएको स्त्री रोग विशेषज्ञ डा सुमनराज ताम्राकारले जानकारी दिए।
शिविरको औपचारिक उद्घाटन कार्यक्रममा तेमाल गाँउपालिकाका अध्यक्ष सलामसिंह तामाङले गरेका थिए । उनले शिविर सञ्चालनमा रेडियो रोशी र सीआईएनले जानकारी गराउने, जिम्मेवार बनाउने भूमिका महत्वपूर्ण भएको भन्दै प्रशंसा गरे।
समापन समारोहमा गाँउपालिकाका उपाध्यक्ष एंव न्यायिक समिति संयोजक दुर्गामाया तामाङले आफूहरूको दायित्व नै नागरिकलाई सेवासुविधा पुर्याउनु भएको उल्लेख गर्दै आगामी दिनमा महिलाको स्वास्थ्य सुधारका लागि पनि काम गर्न तयार रहेको बताइन् ।
धुलिखेल अस्पतालका स्त्री रोग विभाग प्रमुख ताम्रकारले गाउँगाउँमा आएर सेवाग्राहीलाई सेवा दिने अवसर पाएकोमा आफू लगायत सबै टिमलाई खुसी लागेको धारणा राखे । आगामी दिनमा पनि स्थानीय सरकारसँग र सरोकारवाला निकायको समन्वयमा जिल्लाको अरु स्थानमा पनि स्वास्थ्य शिविर सञ्चालन गर्न तयार रहेको उनको भनाइ छ।
शिविर समापन कार्यक्रममा शिविर सञ्चालनका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै रेडियो रोशीका शोभा हुमागाईँ, सीआईएनका लिलप्रकाश चन्द, धुलिखेल अस्पताल र तेमाल गाउँपालिकाको स्वास्थ्य शाखालाई प्रशंसा-पत्र प्रदान गरिएको थियाे ।
तीन महिनाअघि रेडियो रोशीको समन्वयमा सीआईएनले ठूलो पर्सेलमा स्वास्थ्य समस्या रहेको बारेमा रिपोर्टिङ गर्नुका साथै स्वास्थ्य शिविर सञ्चालनका लागि स्थानीय सरकार अनि धुलिखेल अस्पतालसँग समन्वय सुरु गरेको थियो । त्यहाँको स्वास्थ्य समस्याका बारेमा कार्यक्रम 'जीवन रक्षा' मा भएको छलफलमा चाँडै शिविर चलाउने सहमति भए पनि कोरोना महामारीका कारण तीन महिना ढिलो भएको हो ।
प्रतिक्रिया