कुरीतिको जालो तोड्दै तनहुँका महिला : घरदेखि घाटसम्म रीति बसाल्दै

कुरीतिको जालो तोड्दै तनहुँका महिला : घरदेखि घाटसम्म रीति बसाल्दै

केन्द्रबिन्दु
0
Shares

समाज अझै पितृसतात्मक छ। लैंगिक समानताको चर्को भाषण नारी दिवसका दिन जताततै सुनिए पनि घरदेखि घाटसम्मै अझै लैंगिक विभेद छ। तर, याे विभेद हटाउन तनहुँका महिलाहरू अन्य स्थानका भन्दा एक कदम अघि बढेका छन्। उनीहरू ६ बर्षदेखि समाजमा व्याप्त कुरीतिको जालो तोड्न् निरन्तर लागिरहेका छन्। 

हिन्दू धर्म परम्पराअनुसार शवकाे सद्‍गद् पुरुषले नै गर्नु पर्छ। अपवाद बाहेक शव बोक्नेदेखि दाहसंस्कार कर्ममा महिलालाई सहभागी गराउन नचाहने सामाजिक परिवेशमा कुरीतिको जालोलाई तोड्दैछन् व्यास नगरपालिका–५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रमका सञ्चालक महिलाहरू।

याे आश्रम महिलाहरूले मात्रै सञ्चालन गरेका हुन्। आश्रममा आश्रित ज्येष्ठ नागरिकको मृत्यु भएपछि शव बोक्नेदेखि सेतीमादी शव दाहस्थलसम्म पुर्‍याएर दागबत्ती दिने काममा महिलाहरू नै सहभागी हुन्छन् ।

आश्रमका सञ्चालक महिलाले सामाजिक परम्परालाई चुनौती दिँदै लैंगिक विभेदको अन्त्य गर्न जुटिरहेका छन् ।  २०७० सालदेखि आश्रम सञ्चालनमा ल्याइएको हो । आश्रम सञ्चालनमा आएपछि आश्रित आमाबुबाको निधन हुँदा काँध हालेर शव बोक्नेदेखि दागबत्ती दिने काम सञ्चालक महिलाले नै गर्दै आएको आश्रम सञ्चालक समिति सचिव निर्मला मल्ल बताउँछिन्। पितृसतात्मक सोचको अन्त्य गर्न शव बाेक्ने र दागबत्ती दिने अभियानमा जुटिरहेको उनको भनाइ छ।

‘वृद्धाआश्रम भरसक नखुलोस् भन्ने हाम्रो धारणा थियो । अशिक्षा, गरिबी र चेतनाका कारणले आमा बुबालाई हेला गर्ने प्रवृत्ति समाजमा बढ्यो । त्यसो हुँदा हामी महिला दिदीबहिनी चुलो चौकामा मात्र सिमित नभएर सामाजिक काम गरौँ भनेर आश्रम सञ्चालनको अभियानमा जुट्यौँ। हामीले पालनपोषण गरेपछि उहाँहरूको मृत्युमा अन्तिम दाहसंस्कार पनि गर्नुपर्छ भनेर लाग्यौँ ।' मल्ल अगाडि थप्दै भन्छिन्, ‘ किनकी कुनै पनि नीति नियम कानुनमा लेखेको छैन पुरुषले यो काम गर्न हुन्छ महिलाले गर्न हुँदैन भनेर। छोराछोरीलाई जन्माउँदा गर्भमा उत्तिकै समय राखिएको हुन्छ । प्रशव पीडा पनि उस्तै हो । तसर्थ, पितृसतात्मक सोचको अन्त्य गराउँदै छोराछोरी बराबरी रहेको सन्देश फैलाउन हामीले शव बोकेर घाट पुर्‍याइ दागबत्ती दिँदै आएका छौँ।’  आफूहरूले गर्दै आएको कामले आत्मसन्तृष्टि दिलाएको उनले बताइन् । आश्रमका सञ्चालक महिलाले शव बोक्न थालेपछि अरु महिलालाई पनि आफन्तको मृत्यु संस्कारमा पुरुषसरह सहभागी बन्न प्रेरणा मिलेको उनको भनाइ छ ।

आश्रम खुलेको सात बर्षमा ६ जना आमाबुबाको उनीहरूले दाहसंस्कार गरिसकेका छन् । पहिलो पटक २०७२ को भूकम्पपछि आश्रममा आश्रित आइतीमाया थापाको निधन हुँदा सञ्चालकहरूले नै अन्त्येष्टि गरेका थिए। त्यतिबेला चुनौतीको पहाडलाई फोरेर हिम्मत जुटाएको आश्रमकी संस्थापक अध्यक्ष सावित्रीदेवी श्रेष्ठले बताउँछिन्। ‘आइतीमाया आमाको निधन भएपछि उहाँको आफन्तहरू आएर घाटसम्म लैजान्छौँ भनेर प्रस्ताव राख्नुभयो । हामीले पालनपोषण स्याहारसुसार गरेपछि अन्तिम संस्कार किन नगर्ने ? लागेको खर्च पनि ब्यहाेर्छाैं र शव पनि दिदीबहिनीले नै बोक्छौँ भन्यौँ’, उनी सम्झन्छिन् ।  

त्यो बेला समाजले शव बोक्ने र दागबत्ती दिने महिलामाथि नानाथरी भन्याे । अहिलेका महिलाहरु बौलाए, भाले बास्नु पर्नेमा पोथी बास्यो आदि इत्यादि । 'हामीले हेर्न सकिएनसमेत भन्न भ्याए,’ श्रेष्ठ स्मरण गर्छिन्, ‘अझै त हाम्रो समाज कुरीतिमा अल्झिएको छ। त्यतिबेला त झन के भनेन् हाेला र । तर, हामीले ती कुरालाई बेवास्ता गर्दै हाम्रो काममा अगाडि बढ्यौं।’

सावित्रीको भोगाइमा यो अवधिमा समाज केही परिवर्तन भएको छ। आलोचना गर्नेहरु आजकाल साथ दिन थालेका छन्। ‘हिजो आँखा छोप्यौँ भन्ने दाजुभाई दिदीबहिनीहरू पनि हाम्रो अभियानमा साथ दिएर हिँड्नुभएको छ,’ उनले भनिन् ।

आश्रम सञ्चालनका लागि करिब ३५० महिला एक भएका छन्। भाडाको घरबाट आश्रम चलाउन थालेका महिलाले अहिले आफ्नै भवन बनाएका छन्। आश्रममा पाँच जनाले आश्रय लिइरहेका छन्।न्युज कारखाना

Skip This
Skip This
Logo