साइकलमार्फत् १५० देशको भ्रमण गर्ने नेपाली युवाको घोषणा

साइकलमार्फत् १५० देशको भ्रमण गर्ने नेपाली युवाको घोषणा

केन्द्रबिन्दु
0
Shares

जलवायु परिवर्तनले पारेका प्रभावहरुको सम्बन्धमा जनचेतना फैलाउने उद्देश्यका साथ शुभयात्रा विश्व साइकल अभियानको आरम्भ गरिएको छ। 

जलवायु परिवर्तनले पारेका प्रभावहरुको बारेमा जनचेतना फैलाउने उद्देश्य राखेर शुभप्रसाद शर्माले शुभयात्रा विश्व साइकल अभियान मार्फत् विश्वका १५० देशमा साइकलमार्फत् भ्रमण गर्ने भएका हुन्। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस अभियानका बारेमा जानकारी गराए। 

उनले विश्वव्यापीरुपमा देखिएको जलवायु परिवर्तन र यसले निम्त्याएका समस्याहरुलाई न्यूनिकरण गर्ने उद्देश्यबाट प्रेरित भएर विश्व साइकल यात्रा तय गरिएको बताए। उनले अभियानमार्फत् जलवायु परिवर्तनको असरको सम्बन्धमा सचेतना फैलाउनुका साथै १५० देशमा कार्बन उत्सर्जन न्यूनिकरणको सन्देशसहित ५०० वटा वृक्षरोपण गर्ने पनि बताए। विश्व साइकल यात्रामा आफूले इलेक्ट्रिक साइकल प्रयोग गर्ने जानकारी दिए। आगामी दिनमा स्वच्छ वातावरणका लागि पेट्रोलियम पद्धार्थको प्रयोग बन्द गर्नुपर्ने उनले बताए।

उनले साइकलमार्फत् नेपालको झण्डा बोकेर भारत, बंगलादेश, म्यानमार, लावस, कम्बोडिया, भियतनाम, थाइल्याण्ड, मलेसिया र सिंगापुरसम्मको यात्रा पहिलो चरणमा गर्ने र क्रमशः अन्य देशहरुमा यात्रा गर्ने बताए। पाँच वर्षभित्रमा विश्वका १५० देशको यात्रा गर्ने लक्ष्य लिइएको उनले बताए।

Logo