सडक व्यवस्थित नहुँदा फोहोर मैला व्यवस्थापन कठिन : काठमाडौं महानगर

सडक व्यवस्थित नहुँदा फोहोर मैला व्यवस्थापन कठिन : काठमाडौं महानगर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापनमा चुनौती थपिँदै गएको बताएको छ। काठमाडौं उपत्यकाभित्र दैनिक उत्सर्जन हुने फोहोर मैलाको अन्तिम विसर्जनस्थलसम्म फोहोर ढुवानी गर्ने सडकको निर्माण कार्य पुरा नभएका कारण महानगरको फोहोर मैला व्यवस्थापनमा समस्या उत्पन्न भएको बताएको छ। 

महानगरको वातावरण तथा कृषि विभागले ल्यान्डफिल साइडसम्म पुग्ने बाटो निर्माण कार्य समयमै सम्पन्न नहुँदा फोहोर व्यवस्थापनमा समस्या उत्पन्न भएको र सडकमै फोहोर विसर्जन गर्नुपर्ने अवस्था आएको बताएको छ। गएको चैत १८ गतेदेखि फोहोर व्यवस्थापन गर्ने क्षेत्रअन्तर्गत पर्ने पासाङ ल्हामू राजमार्ग अन्तर्गत पर्ने तारकेश्वर नगरपालिकाको मुड्खु तीनपिप्ले सडक खण्डमा सडक कालोपत्रे हुनुपर्ने माग राखी स्थानीयवासीले सडक अवरोध गर्दै आएका थिए । 

स्थानीयवासीको मागको सम्बन्धमा महानगरपालिकाको समन्वयमा स्थानीयवासी, नेपाल सरकारका सरोकारवाला निकायबीच समन्वय गरी हाल फोहोर ढुवानी सुचारु भएको छ। सडक निर्माण कार्यलाई समयमै सम्पन्न गर्ने निर्माण कम्पनी सैलुङ कन्ट्रक्सनले गरेपछि हाललाई अवरोध हटी बिहान २ बजेदेखि ८ बजेसम्मको समयमा फोहोर विसर्जन गर्ने कार्य तत्कालका लागि सुचारु भएको महानगरले बताएको छ। 

लामो समयसम्म बाटो अवरोध भएका कारण ल्यान्डफिल साइटमा फोहोर विसर्जन गर्न समस्या उत्पन्न हुँदा सहरका सडक, गल्ली फुटपाथका फोहोर उठाउन केही समय लाग्ने महानगरका वातावरण तथा कृषि विभागका निमित्त विभागीय प्रमुख सरिता राईले बताइन् । ‘सडककै कारण गएको फागुनयता ३ पटक स्थानीयले सडक अवरोध गर्दा ३३ दिन काठमाडौंको फोहोर ल्यान्डफिल साइडमा विसर्जन हुन सकेन। जसका कारणले हामीले ल्यान्डफिल साइडसम्म फोहोर पुर्‍याउन सकेनौ’, राईले भनिन्, स्थानीयवासीका विभिन्न मागहरू छन्। निर्माणाधीन सडक पुरा नहुँदा सबैभन्दा बढी समस्या हामीले फोहोर व्यवस्थापनमा भोगिरहेका छौं। महानगरले सरोकारवाला निकाय, आन्दोलन गरिरहनुभएका स्थानीयवासी र सडक निर्माणको ठेक्का पाएको कम्पनीसँग समन्वय गरेपछि तत्कालका लागि फोहोर विसर्जन गर्न पाइरहेका छौं। तर यो दिगो समाधान भने होइन ।’ 

फोहोर विसर्जन गर्ने क्रममा गाडी तोडफोड हुने लगायतका समस्या रहेको भन्दै निमित्त विभागीय प्रमुख राईले चालकहरूले असुरक्षित महसुस गर्ने समस्या रहेको बताइन्। तत्कालका लागि सडकले काम सुचारु गर्‍यो र स्थानीयवासीले अवरोध नगरेमा फागुन महिनायता सडकमा थन्किएको फोहोर २/३ दिनभित्र काठमाडौँ महानगरको फोहोर व्यवस्थापन गरेर सकिनेसमेत महानगरले जानकारी दिएको छ । 

ल्यान्डफिल साइड प्रभावित स्थानीयवासीका विभिन्न मागहरू रहेको भन्दै उनले निर्माणाधीन अवस्थामा रहेको बन्चरेडाँडा ल्यान्डफिल साइड प्रयोग गर्नु भनेर सहकारी विकास विकासले महानगरलाई पत्र दिएको भए पनि आयोजना निर्माणाधीन अवस्थामा रहेको, ल्यान्डफिल साइडसम्म पुग्ने बाटो निर्माण भई नसकेको, ठेकेदार कम्पनीले हस्तान्तरण गरिनसकेका कारण तत्काल महानगरले प्रयोग गर्न सक्ने अवस्था नरहेको महानगरले जनाएको छ।  

हाल महानगरले फोहोर व्यवस्थापन गर्दै आएको सिसडोलको पनि भरिइसकेकाले फोहोर व्यवस्थापनका निम्ति ठूलो समस्या उत्पन्न हुने अवस्था सिर्जना भएको समेत महानगरले जनाएको छ। मुख्यतः पूर्वाधार विकास नहुँदा फोहोर व्यवस्थापनमा समस्या उत्पन्न भएको महानगरको भनाई छ। ‘निर्माणाधीन अवस्थामा रहेको बन्चरेडाँडा ल्यान्डफिल साइडको निर्माण पुरा भइसकेको छैन । सहरी विकास विभागले हामीलाई बञ्चरे डाँडामा फोहोर व्यवस्थापन गर्न अनुमति दिइसकेको छ’, महानगरको वातावरण विभागकी निमित्त प्रमुख राईले भनिन्, ‘तर तत्काल त्यहाँसम्म पुग्ने बाटोको अवस्था राम्रो भएको र फोहोर व्यवस्थापन गर्ने क्रममा क्षति भएमा महानगरले नै बेहोर्ने लगायतका केही सर्तहरू भएका कारण हामीले त्यहाँ फोहोर व्यवस्थापन गर्न सक्ने अवस्था छैन । ठेकेदार कम्पनीले पनि हस्तान्तरण गरिसकेको छैन।’

काठमाडौं जिल्लाका सबै स्थानीय तहमा उत्पादन हुने फोहोर मैला एकीकृतरूपमा व्यवस्थापन गर्ने अवधारणा आए पनि त्यसले सार्थकता पाउन सकेको छैन । यसअघि २०७४ असारमा फोहोरबाट बिजुली निकाल्ने ‘बायोमिथानेशन’ प्लान्ट जडान गरिएको थियो । युरोपियन युनियनको सहयोगमा जडान गरिएको उक्त प्लान्ट अहिले भने त्यत्तिकै थन्किएर बसेको अवस्था छ। उक्त प्लान्ट पुनः सुचारु गर्ने सम्बन्धमा विभिन्न निकायसँग छलफल जारी रहेको समेत महानगरले जनाएको छ। 

वर्षाको समयमा फोहोर व्यवस्थापनमा सबैभन्दा बढी कठिनाइ हुने गरेको भन्दै महानगरले यस पटक वर्षा सुरु हुनु अगावै बाटो लगायतका पूर्वाधार निर्माण सम्पन्न नभएमा यस पटक फोहोर व्यवस्थापनमा झन् धेरै समस्या उत्पन्न हुने महानगरको भनाइ छ। फोहोर व्यवस्थापन कार्य प्रत्येक घरघरको दायित्व समेत भएकाले घरबाटै कुहिने र नकुहिने फोहोर छुटाउनसमेत सबै नगरबासीलाई आग्रह गरेको छ।

Logo