पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ल्यान्डफिल्ड साइटको अझै व्यवस्थापन नहुँदा विमानस्थल सञ्चालनमा ढिलाइ हुने भएको छ।
विमानस्थल निर्माण कार्य करिव सकिएर २ साताअघि चिनियाँ विदेशमन्त्री नेपाल भ्रमणका बेला विमानस्थलको सांकेतिक साँचो प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरणसमेत भएको छ । तर विमानस्थलको निर्माण कार्य पूरा भएर पनि विमानस्थल नजिकै रहेको फोहोर विसर्जनस्थल ल्यान्डफिल्ड साइट व्यवस्थापन हुन नसक्दा विमानस्थल सञ्चालनमा ढिलाइ हुने भएको छ। सुरक्षित उडानका लागि विमानस्थल दुई किलोमिटर क्षेत्रमा रहेको ल्यान्डफिल्ड साइटलाई उपयुक्त ठाउँमा स्थानान्तरण गरेर व्यवस्थापन गर्नु पर्यटन मन्त्रीको अध्यक्षतामा समिति बने पनि काम भएको छैन।
पोखरा महानगरपालिकाले ल्यान्डफिल्ड साइट अन्य स्थानमा नसारेसम्म विमानस्थल सञ्चालन गर्न समस्या रहेको छ। मंगलबार गण्डकी प्रदेश सरकारका मुख्यमन्त्रीसहित सरोकारवाला निकायहरुबीच बुद्ध एयरले ल्याण्डफिल्ड साइटको विषयमा छलफल गरेको छ। छलफल कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा विमानस्थल राष्ट्रिय गौरवको आयोजना भएकाले निजी क्षेत्र र प्रदेश सरकारबीच सहकार्य गरेर काम गर्ने बताए। उनले पोखरा विमानस्थल सञ्चालनको लागि ल्याण्डफिल्ड साइट हटाएर नयाँ ठाउँमा बनाउनको लागि सहजिकरण समितिले १५ दिनभित्र ल्याण्डफिल्ड साइट बनाउने स्थानको रिर्पोट ल्याउन निर्देशन दिए। मुख्यमन्त्री पोखरेलले ल्याण्डफिल साइट लागि तोकिएको स्थानको जग्गाको संरचना, सरकार वा निजी जग्गाको विषयमा तत्काल समितिले टुङ्गो लगाउनु पर्ने बताए। उनले त्यहाँका जनताको समस्या, क्षतिपूर्तिको विषयमा र प्रविधिक विज्ञसमेत राखेर रिर्पोट तत्काल तयार गर्ने आग्रह गरे ।
त्यस्तै, गण्डकी प्रदेशका पर्यटनमन्त्री मणिभद्र शर्मा कँडेलले पोखरा विमानस्थल सञ्चालनको लागि ल्याण्डफिल्ड साइटको मात्रै काम बाँकी रहेको बताए। ल्याण्डफिल्ड साइट बनाउने काम समितिले ल्याण्डफिल्ड साइटको जग्गाको अध्ययन भइरहेको मन्त्री कँडेलले बताए। उनले ल्याण्डफिल बनाउने विषय जटिलता रहेकाले विमानस्थल सञ्चालनमा समस्या ल्याएको बताए। मन्त्री कँडेलले सबैको चासोको विषयमा भएकाले अहिले निर्वाचन आचारसहिंता नलाग्ने भएका काम अगाडि बढाउनु पर्ने जिकिर गरे। ल्याण्डफिल साइट बनाउने विषयमा प्रदेश सरकारभन्दा पनि महानगरपालिकाले बढी महत्व दिनु पर्ने मन्त्री कँडेलको भनाइ छ।
त्यस्तै, प्रतिनिधि सभाकी सांसद विद्या भट्टराईले विमानस्थल बनाउने बेलामा नै विमानस्थल सञ्चालनमा ल्याण्डफिल्ड साइट मुख्य समस्या रहेको बताए पनि काम अहिलेसम्म हुन नसक्नु राम्रो नभएको बताइन् । उनले ल्याण्डफिल्ड साइड समस्या समाधानको लागि प्रदेश र स्थानीय सरकारबीच समन्वय भए पनि जनतासँग समन्वय नहुँदा समस्या आएकाले जनतासँग समन्वय गर्नु पर्ने बताइन्। सांसद भट्टराईले समस्या कहाँ छ भन्ने भन्दा पनि अहिले समस्याको समाधान कसरी गर्ने भन्ने कुरा महत्वपूर्ण भएको बताइन्। पूर्वाधार निर्माणको लागि तीनै तहका सरकारले टाइमलाइन बनाएर काम गर्नु पर्ने आवश्यकता औंल्याइन्।
त्यस्तै, कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारीले जयनारायण आचार्यले प्रक्रिया पुगेर आएको २ घन्टाभित्रै जग्गा अधिग्रहण र क्षतिपूर्तिको काम थाल्ने प्रतिबद्धता जनाए। यसरी विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुगिरहँदा विमानस्थल कहिले सञ्चालन हुन्छ भन्ने टुंगो छैन। स्थानीय तह अर्थात् पोखरा महानगरले ल्यान्डफिल्ड साइट खोज्नुपर्ने भए पनि निधोमा पुग्न सकेको छैन।
चिनियाँ सरकारको झण्डै ३० अर्ब ऋण सहयोगमा निर्माण भइरहेको यो विमानस्थलको ९५ प्रतिशत काम पूरा भइसकेको छ। ल्यान्डफिल्ड साइट निर्माण र पूर्वतिरको रिठेपानीडाँडा कटानमा ढिलाइ भइरहेको छ। डाँडाको कटान त अब केही महिनामा सकिन्छ तर ल्यान्डफिल्ड साइट कहाँ बनाउने हो र अहिले भइरहेको स्थानबाट कहिले सार्ने हो भन्ने नै ठूलो अन्योल रहेको छ।
उडान सञ्चालनका लागि प्रदेश सरकारले अब नागरिक उड्डयन प्राधिकरणसँग मिलेर नेपालमा उडान भरिरहेका हवाई कम्पनीका प्रमुखहरुलाई पोखरा नै बोलाएर छलफल गर्दैछ। बाहुनडाँडादेखिको पानीको भल विमानस्थलमा पुग्छ। त्यसलाई बाइपास बनाएर विजयपुर खोलामा झार्नका लागि संघ सरकारले काम थालिसकेको छ। त्यस्तै विमानस्थलको ९५ प्रतिशत काम सकिँदा ल्यान्डफिल्ड साइट निर्माण र रिठेपानीडाँडा कटानमा ढिलाइ भइरहेको छ।































प्रतिक्रिया