साथीको हत्या गरि फरार अभियुक्त पक्राउ

साथीको हत्या गरि फरार अभियुक्त पक्राउ

केन्द्रबिन्दु
0
Shares

भोज भतेरमा खाना बनाउन बोलाइ साथीको हत्या गरि फरार रहेका सप्तरीको रुपनी गाउँपालिका–१ रुपनीचोक बस्ने ३८ वर्षीय मोनाजिर मियाँ पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरि पक्राउ परेका मियाँलाई सार्वजनिक गरेको हो । निर्वाचनको मुखमा भारतबाट नेपाल प्रवेश गरेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेको नेतृत्वमा पुगेको टोलीले उनलाई बोदे बर्साइनबाट पक्राउ गरेको हो ।

मियाँले आफ्नै साथी सप्तरीको विष्णुपुर गाउँपालिका–५ कट्टी टोल बस्ने ५० वर्षीय रामसुन्दर महतोको गत साल असोज ८ गते हत्या गरेको उजुरी जिल्ला प्रहरी कार्यालय सप्तरीमा दर्ता गरिएको थियो । महतोको शव सप्तरीको शम्भुनाथ नगरपालिका–१ स्थित खाँडोखोला नजिक रहेको सार्वजनिक पोखरीमा हत्याको भोलिपल्ट फेला परेको थियो।

शव फेला परेपछि घटनाको अनुसन्धान गरिरहेको प्रहरीलाई उनले फोनमा हत्या स्वीकार गरि आफूलाई पक्राउ गर्न चुनौति दिएका थिए। पक्रन प्रहरी सक्रिय भएपछि उनी फरार भई भारतको विहारमा लुकेर बस्दै आएका थिए।

आरोपित मियाँ यसअघि विसं ०७४ जेठ १३ गते विष्णुपुर गाउँपालिका–७ बाट एक थान पेस्तोल र गोइत समूहको जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा पम्प्लेटसहित पक्राउ परेका थिए। तत्काल पुर्पक्षका लागि कारागार चलान भएका उनी जरिवानापश्चात नौ महिनापछि रिहा भएका थिए। 

जनतान्त्रिक तराई मुक्ति मोर्चा गोइत समूहमा आबद्ध रही विभिन्न निर्माण कम्पनीका ठेकेदार तथा धनाढ्य व्यक्तिलाई फोन गरि धम्क्याइ चन्दा असुली गर्ने कार्यमा सरिक रहेको प्रहरीको अनुसन्धानले देखाएको छ। प्रनाउ काफ्लेका अनुसार मियाँ अवैध लागूऔषध व्यापार गर्ने, लुकाइछिपाइ हतियार बोकी हिँड्ने र जनमानसमा डर, त्रासको वातावरण सिर्जना गर्ने आपराधिक समूहका व्यक्ति हुन्।

Skip This
Skip This
Logo