२ महिनायता सहयोगीको भरमा स्वास्थ्यचौकी

२ महिनायता सहयोगीको भरमा स्वास्थ्यचौकी

केन्द्रबिन्दु
0
Shares

हुम्लाको मध्यक्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–६ मा रहेको बराइ स्वास्थ्यचौकी झण्डै दुई महिनादेखि स्वास्थ्यकर्मीविहीन बनेको छ । सात कर्मचारीको दरबन्दी रहेको बराइ स्वास्थ्यचौकीमा एक कार्यालय सहयोगीको भरमा कार्य सञ्चालन हुँदै आएको छ ।

मङ्सिर १५ गतेयता कर्मचारी कोही नहुँदा कार्यालय सहयोगी मानबहादुर रोकायाको भरमा स्वास्थ्यचौकी सञ्चालन हुँदै आएको हो । एचए एक, अनमी दुई, अहेब दुई र कार्यालय सहयोगी एक गरेर सात जनाको दरबन्दी भए पनि स्वास्थ्यकर्मी कोही पनि नभएको यहाँका स्थानीयवासीले गुनासो गरेका छन् ।

कार्यालय सहयोगी रोकायाले सिटामोलबाहेक अन्य औषधि नचिनेका कारण सेवा लिन पुगेका बिरामीले दुई महिनादेखि रित्तो हात घर फिर्ता हुनु परेको बताइएको छ । बराइगाउँका स्थानीयवासी बिरामी हुँदा सामान्य उपचारका लागि कोही साढे एक घण्टाको पैदल हिँडेर सर्केगाड स्वास्थ्यचौकीमा पुग्ने गरेका र कोही जिल्ला अस्पताल सिमकोट पुग्ने गरेको ६० वर्षीय स्थानीयवासी राना बुढाले गुनासो गरे ।

दुई जनाको दरबन्दी रहेको अहेव समायोजन भएदेखि गाउँपालिकाले पठाएको छैन । दुई करार अनमी कर्मचारी स्थानीयवासी भए पनि उनीहरु उपस्थित नहुने गरेको बताइएको छ । कार्यालय सहयोगी रोकायाले आफू एक्लै भएकाले काम गर्न गाह्रो भएको, सिटामोलबाहेक अन्य औषधि चिन्न नसकेकाले बिरामी आउँदा समस्या हुने गरेको बताए ।

Logo