जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

मानव बेचबिखन तथा जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका–८ स्थित एक रेस्टुरेन्टमा काम गरी बस्ने २५ वर्षीय सुरज कुमार साह, वीरगंज महानगरपालिका–१६ फूलबारी टोल डेरा गरी बस्ने ३५ वर्षीय हरिचन्द्रनाथ योगी र वीरगंज महानगरपालिका–१६ स्थित कार्की होटेलकी सञ्चालिका ४२ वर्षीया लक्ष्मी बुढाथोकी (कार्की) रहेका छन् ।  

प्रहरीका अनुसार सुरज कुमार साहले जेठ ५ गते काठमाडौं बस्ने २५ वर्षीया युवतीलाई विवाह गर्ने प्रलोभन देखाई वीरगन्ज लगेका थिए ।  वीरगन्जको बसपार्कस्थित एक होटलमा लागि ती युवतीलाई उनले पटक पटक करणी गरेका थिए । 

त्यसपछि जेठ ९ गते वीरगन्ज महानगरपालिका–१६ स्थित कार्की होटेलकी सञ्चालिका लक्ष्मी बुढाथोकीको जिम्मा लगाई उनी फरार भएका थिए । 

जेठ १० गते लक्ष्मी बुढाथोकीले ‘विवाह गर्छ’ भनी झुक्काई हरिचन्द्रनाथ योगीको साथमा युवतीलाई पठाएकी थिइन् । त्यसपछि योगीले पीडितलाई आफ्नो कोठामा लागि मानसिक र शारीरिक यातना दिई पटक पटक जबरजस्ती करणी गरेको अनुसन्धानमा खुलेको छ । 

उक्त घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई वीरगन्ज महानगरपालिकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो । 

उनीहरू उपर जबरजस्ती करणी र मानव बेचबिखन तथा ओसारपसार कसुरमा अनुसन्धान भइरहेको छ ।

Logo