बजारमा नक्कली ‘सिंगिङ बउल’को बिगबिगी बढेपछि चिन्तामा व्यवसायी

बजारमा नक्कली ‘सिंगिङ बउल’को बिगबिगी बढेपछि चिन्तामा व्यवसायी

केन्द्रबिन्दु
0
Shares

लामो समयदेखि सिंगिङ बउल बनाउँदै आएका शान्तरत्न शाक्य ‘कसाहा’ले बजारमा नक्कली सिंगिङ बउल भेटिन थालेकोमा चिन्ता व्यक्त गरेका छन्।

पुर्ख्यौली पेशाको रुपमा सिंगिङ बउल बनाउँदै आएका शाक्यको आफ्नै ब्रान्ड छ ‘फुलमुन बउल’। जुन बउलमा उनको आफ्नै लोगो र नेवारी लिपिमा ‘कसाहा’ लेखेका छन्। ‘कसाहा’ भन्ने शब्द उनको ट्रेडमार्क हो। तर, पछिल्लो समय नक्कली सिंगिङ बउल निर्माताले आफ्नो कम्पनीको लोगो र नाम राखेर उत्पादन गरिदिएकाले समस्या परेको उनले बताए।

काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा शाक्यले भने ‘बजारमा पाइने विभिन्न बउलमा मेरो कम्पनीको लोगो र सिग्नेचर समेत राखेको भेटेँ।’ यो बनाउन विषेश किसिमको धातु र सीपको आवश्यकता पर्छ। अहिले बजारमा पाइने सबै किसिमका बउलमा उपयुक्त धातु मिसिएको हुँदैन। 

शाक्यले नामाकरण गरेको ‘फूलुमुन बउल’ पूर्णिमाको रातमा मात्रै बनाउने गरेको बताए। उनले भने, ‘यो फुलमुन बल सबै समयमा बनाइदैन हामी विभिन्न सात किसिमका धातु राखेर हरेक पूर्णिमामा मात्रै बनाउँछौं र त्यसकारण यो विषेश खालको हुन्छ।’ यसबाट आउने ‘साउन्ड’ अन्य बलको भन्दा फरक हुने उनले बताए।

विदेशमा आफूले बनाएको फूलमुन बउल लोकप्रिय र विश्वसनीय भएको जानकारी दिँदै शाक्यले नक्कली बउल उत्पादनले आफ्नो मात्रै नभएर सिंगै नेपालको बदनाम हुनसक्ने बताए। ‘व्यापार जसले पनि गर्न पाउँछ मेरो कुनै गुनासो छैन तर अन्य कम्पनीले मेरो लोगो र नाम नराखुन्’ शाक्य भन्छन्।

शाक्यका अनुसार मन्दिरको हरेक घन्टको आवाज फरक फरक भएजस्तै सबै फूलमुन बउलको साउन्ड फरक हुन्छ। ‘हामी आवश्यक कच्चा पदार्थमा कहिल्यै कम्प्रमाइज गर्दैनौँ र निकै मिहिनेतका साथ बनाउँछौं त्यसकारण हामीले बनाउने बउलको साउन्डमा एकरूपता हुन्छ’, उनले भने।

यो बउल पहिला पहिला विशेषगरि गर्भवती र सुत्केरी महिलालाई खाना खुवाउन प्रयोग गर्ने चलन थियो। कारण उक्त भाँडोमा खाना खाँदा गर्भवतीले आवश्यक खनिज पदार्थ पाउथेँ।

अहिले भने सिंगिङ बउलबाट साउण्ड थेरापी गर्न सकिन्छ। युरोप, अमेरिकालगायतका मुलुकमा डिप्रेसनमा गएकालाई सिंगिङ थेरापीबाटै उपचार गराउने चलन छ। नेवार समुदायको मृत्यु संस्कारमा पनि बउल नभइ हुँदैन। कसैको मृत्यु भैसकेपछि काँसको भाँडामा पानी खुवाएपछि मृत्यु घोषणा गरिन्छ। 

अङ्ग्रेजीमा सिङ्गिङ् बउल भनेर चिनिने बटुकोलाई नेपाल भाषामा ‘बाटा’ भनिन्छ। नेवारी परम्परा र संस्कृतिमा ‘बाटा’को महत्व विशेष खालको रहेको शाक्यको भनाइ छ। उनी भन्छन् ‘नेवारी परम्परामा ‘जानेगु बाटा’ भनेर सुत्केरीलाई यसमा खाना खुवाइन्छ। साथै मृत्यु हुँदा काँसको सानो कचौरा मृतकको मुखमा राख्ने चलन छ। यसलाई ‘कें ख्वाला’ भनिन्छ तर, आजभोलि काँसको प्रयोग घट्दै गएकाले यो परम्परा हराउँदै गएको छ। 

सिङ्गिङ् बउल तान्त्रिक योग र साधानामा प्रयोग हुने महत्वपूर्ण उपकरण भएको शाक्यको भनाइ छ। ‘यसले हाम्रो शरीरको नसालाई कम्पन र झङ्कार दिन्छ’, उनले भने। धार्मिक शास्त्रअनुसार वज्रयानका अनुसार हाम्रो शरीरमा पाँच र हिन्दू शास्त्रका अनुसार सातवटा चक्र हुन्छ।

सिङ्गिङ बउलको ध्वनिले ती चक्रहरूमा कम्पन उत्पन्न गराउँछ सिङ्गिङ् बउलको ध्वनिले मस्तिष्कको रक्तसञ्चारलाई प्रभाव पार्छ। शरीरमा जति मात्रामा रक्तसञ्चार हुन्छ, त्यति नै ध्वनिको आवश्यक पर्छ। रक्त सञ्चार सही तरिकाले भयो भने दिमागमा आनन्द आउँछ।

सिङ्गिङ् बउलबाट धेरै खालका ध्वनि उत्पन्न हुने र त्यसले फरक फरक रोगको उपचार गर्न सकिने उनले बताए। तर, फरक फरक समस्याका लागि फरक फरक ध्वनिको उपयोग गर्नुपर्ने उनको  सुझाव छ। एउटा सिङ्गिङ बउलबाट सयभन्दा बढी प्रकारका ध्वनि निस्कने उनले बताए। उनले भने, ‘म कहाँ बढी मात्रामा महिला उपचार गर्न आउँछन्।’ 

विशेषगरी महिनावरी हुँदा नारीहरूमा मानसिक तनाव उत्पन्न हुने भएकाले विश्वमा करिब ९० प्रतिशत महिलामा माइग्रेनको समस्या हुने गरेको उनले बताए। माइग्रेसन पीडितका लागि सिङगिङ बउलको उपचार अचुक विधि भएको उनको अनुभव छ। तर, एकै खालको समस्या भए पनि प्रत्येक व्यक्तिमा फरक फरक रक्त समूह हुने भएकाले फरक फरक ध्वनिको प्रयोग गर्नुपर्ने उनले बताए। 

मुख्यतः यो विधिले नसा र मानसिक रोगीका बिरामीका साथै कान कराउने समस्यालाई पनि उपचार गर्न सकिने शाक्यले बताए। औषधि खाएर वा शल्यक्रिया गरेर उपचार नहुने रोगलाई पनि उपचार गर्न सकिन्छ। यो विधिबाट तनाब, विषाद हुने, मनमा कुरा खेलाउने समस्या भएकालाई पनि उपचार गर्न सकिने उनले बताए।

यस्तो छ परम्परागत महत्व
प्राचीन कालमा तिब्बतमा सिङ्गिङ् बउल उपचारका लागि मस्तिष्कलाई ताजा बनाउन र ध्यानका लागि प्रयोग हुन्थ्यो। यसले एक विशेष खालको ध्वनि निकाल्ने हुनाले शरीरमा रहेका रोग तथा अन्तरात्ममा रहेका विषाक्त तत्वहरूलाई दूर गर्छ भन्ने विश्वास थियो। तिब्बतमा सिङ्गिङ बउलको प्रवेश नेपालबाटै भएको त्यहाँका लामाहरूको मत छ।

सामान्यत : सिङगिङ बउल दुई खालको हुन्छन्। मेडिटेसन र हिलिङ बउल। योग गर्ने समयमा बजाइने बउल मेडिटेसन बउल हो। यसलाई हातले नै बजाउनुपर्छ भन्ने छैन। यसले ध्वनि मात्र दिन्छ। हिलिङ बउलको नाम ठाउँअनुसार फरकफरक हुन्छ। अमेरिकामा यसलाई हिलिङ बउल, युरोपमा मसाज बउल र जापानमा सिराइन बउल भनिन्छ।

Skip This
Skip This
Logo