सप्तरीको रूपनी गाउँपालिका-५ को मुसहरनियाँ बसविट्टीमा विङ्गर दुर्घटना हुँदा ६८ वर्षीया तारावतीदेवी यादवको मृत्यु भएको छ ।
दुर्घटनामा परी विङ्गरमा सवार १० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधवप्रसाद काफ्लेका अनुसार प्र ३-००१ ज ०२७७ नम्बरको उक्त विङ्गर राजविरा-रुपनी सडक खण्डमा राजविराजतर्फ जाँदै थियो ।
विङ्गर दुर्घटना हुँदा जिल्लाकै रुपनी गाउँपालिका-१ नकटीरायपुर घर भएकी ६८ वर्षीया यादव गम्भीर घाइते भएकी थिइन् । उपचारको क्रममा उनको गजेन्द्रनाराणि सिंह अस्पताल राजविराजमा मृत्यु भएको प्रवक्ता काफ्लेले बताए ।
दुर्घटनामा परी घाइते भएकाहरूमा रुपनी-२ कि ३० वर्षीया निर्मलादेवी मण्डल, ३ कि ३२ वर्षीया गौरी मण्डल, सोही वडाका ३४ वर्षीय रामाकुमार साह घाइते भएका छन् । जिल्लाकै शम्भुनाथ नगरपालिका-६ कठौनाका ४५ वर्षीया बिलेवतीदेवी साह, वडा नम्बर-११ का ५६ वर्षीय रामनारायण चौधरी, डाक्नेश्वरी नगरपालिका-१ कि ३३ वर्षीया लीलादेवी सदा, सोही ठाउँका ३४ वर्षीय धर्मेन्द्र सदा पनि दुर्घटनामा घाइते भए ।
प्रहरी प्रवक्ता काफ्लेका अनुसार दुर्घटनामा सिरहाको कर्जनहा नगरपालिका-८ का ३६ वर्षीय ओमनरायण पासवान, ३१ वर्षीया पत्नी इन्द्रदेवी पासवान र उनका सात वर्षीय छोरा आनन्द पासवान सोही दुर्घटजामा परी घाइते भएका छन् । घाइतेहरूको गजेन्द्रनारायण सिंह अस्पतालमै उपचार भइरहेको छ ।
प्रतिक्रिया