तीन दशकदेखि बस्ती पहिरोको त्रासमा

तीन दशकदेखि बस्ती पहिरोको त्रासमा

केन्द्रबिन्दु
0
Shares

मस्र्याङ्दी गाउँपालिका ५ माथिल्लो चिप्लाका बासिन्दा तीन दशकदेखि पहिरोको त्रासमा दिन बिताउँदै आएका छन् ।

पहिरोले गाउँ च्याप्दै लगेपछि स्थानीय बसाइँ सर्न बाध्य बनेका छन । अनुसन्धानकर्ता तथा विज्ञले उक्त गाउँ सार्न सिफारिस गरेपनि पुर्नस्थापनाको लागि कुनै कार्य नभएको स्थानीय कुमीरजंग गुरुङले बताए ।   

पहिरोले बगाउन लागेपछि रामबहादुर गुरुङ घेर्मुफाँटमा बसाइँ सरेका छन । सरकारबाट स्थानान्तरणको काम नभएपछि आफ्नै खर्चले घर बनाएको उनले बताए । बेलबहादुुर गुरुङ प्रोजु डाँडामा सरेका छन । उनलाई बेलायतमा रहेका बाहुनडाँडा, ताघ्रिङ र घेर्मु (बाघेता) समाजले घर बनाउन सहयोग गरेको थियो । मनजित गुरुङ गाउँमाथिको क्रमुचेमा सरेका छन्  ।

स्थानीय आइतसरी गुरुङका अनुसार पहिरोले घर लाने समस्या भएपछि डराइडराई बस्नुपरेको छ । ‘जाने ठाउँ नभएका स्थानीय पहिरोकै त्रासमा यहीं बस्न बाध्य छन । पानी पर्न थालेदेखि डराउनुपर्छ’, उनले भनिन्, ‘यो पहिलेदेखिकै समस्या हो ।’ 

पहिरो घरभन्दा  १०/१५ मिटर टाढा छ । ‘ठाउँ भिरालो छ । घरदेखि पहिरोसम्मका ठाउँठाउँमा चिरिएका छन् ’, स्थानीय दयराम गुरुङले भने । उनका अनुसार १२ वैशाख २०७२ को भूकम्पले हल्लाएपछि पहिरोको जोखिम झनै बढेको छ । 

उक्त पहिरोको दुई वर्षअघि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट खटिएका भू–संरक्षण तथा जलाधार व्यवस्थापन विज्ञ, भूगर्भविद् जल उत्पन्न प्रकोप व्यवस्थापन विज्ञको टोलीले अध्ययन गरेको थियो ।

यसअघि दैवीप्रकोप उद्धार समितिमार्फत गएको टोली, मन्त्रालयबाटै आएको टोली, जिल्लाकै भूसंरक्षण कार्यालयका टोली लगायतले धेरैपटक अध्ययन गरी बस्ती सार्न सिफारिस गरेर सरकारलाई सुझाव दिएका छन । तर, यसबारे सरकारले कुनै निर्णय गरेको छैन । 

 

Logo