प्रथम मधेस प्रदेश युवा महोत्सव : २० बुँदे घोषणापत्र सार्वजनिक, मधेस युवा हिरोहरू सम्मानित

प्रथम मधेस प्रदेश युवा महोत्सव : २० बुँदे घोषणापत्र सार्वजनिक, मधेस युवा हिरोहरू सम्मानित


मधेस प्रदेशमा जारी प्रथम युवा महोत्सव २० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । 

बुधबारदेखि जनकपुरको उद्योग वाणिज्य संघको सभाहलमा शुभारम्भ भएको महोत्सव महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा सम्पन्न भएको हो ।  महोत्सवमा मधेस मन्थन, मधेस जागरण, मधेस हटिया, सांस्कृतिक साँझ र मधेसका मान कार्यक्रमपछि घोषणापत्र जारी गरिएको थियो । 

युवा अभियन्ता आनन्दकुमार सहनीले प्रस्तुत गरेको घोषणापत्रमा तीन वटै तहका सरकार युवामैत्री हुनुपर्ने निष्कर्ष निकालिएको छ । नगरहरू युवामैत्री नभई प्रदेश पनि हुन नसक्ने भएकाले स्थानीय सरकारबाटै सुरुवात हुनुपर्ने सुझाव दिइएको छ । 

समुन्नत मधेस प्रदेशका लागि साझा अठोट नारा दिइएको महोत्सवको घोषणापत्रमा प्रदेशका सीमान्तकृत समुदायमा रहेका हरुवा चरुवा, दलित समुदाय, मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्ने युवालगायतका समूहहरूलाई लक्षित गर्दै उच्च शिक्षा तथा प्राविधिक शिक्षाको निःशुल्क व्यवस्था गरी रोजगारीको सुनिश्चितता गर्ने प्रयत्न गरिने उल्लेख छ । 

युवाहरूको स्वरोजगार अभिवृद्धिका निमित्त स्थानीय तहसँगको समन्वयमा प्रदेश मन्त्रालयको पहलमा तालिम तथा वित्तीय साक्षरता कक्षाको सुनिश्चितता तथा सहुलियत रूपमा उचित पुँजी प्राप्त गर्न सकिने संयन्त्रको व्यवस्था गरिने र सीमान्तकृत समुदायका युवाहरूलाई प्राथमिकता दिइने उल्लेख छ । बढ्दो डिजिटलाइजेसनसँगै युवाहरू प्रविधिको पहुँचमा पुगेको र उनीहरू गलत तथा मिथ्या सूचना, दुष्प्रचार तथा घृणास्पद अभिव्यक्तिको सिकार भइरहेको उल्लेख गर्दै यसबाट जोगाउनको लागि विभिन्न सचेतीकरण कार्यक्रमहरू सञ्चालन गरिने उद्देश्य लिइएको छ ।   

Logo