रुपन्देहीका इँटा उद्योग बन्द हुने अवस्थामा

रुपन्देहीका इँटा उद्योग बन्द हुने अवस्थामा

केन्द्रबिन्दु
0
Shares

पछिल्लो समयको आर्थिक मन्दी, कच्चा पदार्थमा अत्यधिक मूल्यवृद्धिका कारण रुपन्देहीमा रहेका इँटा उद्योगहरू बन्द हुने अवस्थामा पुगेका छन ।

इँटामा रुपन्देही आत्मनिर्भर जिल्ला रहे पनि व्यावसायिकहरू उद्योग सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेको लुम्बिनी इँटा उद्योग व्यवसायी संघका महासचिव अजयकुमार गुप्ताले जानकारी दिए । कोइलाको मूल्य बढेको र नेपालमा आयात हुने कोइला गुणस्तरहीन हुँदा समस्या थपिएको उनले बताए ।

गत वर्षप्रति मेट्रिकटन २४ हजार खरिद गरिदै आएको कोइला अहिले बढेर  २९ देखि ४० हजार पुगेको छ । नेपालमा आयात हुने कोइला भारतको बिहार, रानीगन्ज, बंगाललगायतका स्थानबाट आउने गरेको गुप्ताले बताए । नेपालमा अमेरिका, इन्डोनेसिया, भारतको आसामबाट आउने कोइला राम्रो मानिन्छ, तर हाल नेपालमा आयात हुने कोइला गुणस्तरहीन भएका कारण इँटा उत्पादनमा समेत प्रभाव परेको उद्योगीहरूको गुनासो छ ।

इँटा उत्पादन गर्दा कुल लागतको ६० प्रतिशत कोइलामा खर्च हुने गर्दछ । प्रत्येक वर्ष बेमौसमी वर्षाले करौडौँको इँटा नष्ट हुँदा व्यवसायीहरू मर्कामा पर्ने गरेका छन् भने कोइलामा भएको मूल्यवृद्धिले थप मारमा परेको गुनासो गरेका छन् । पछिल्लो समय उद्योगीहरूले काँचो इँटाको बिमा हुनुपर्ने माग गर्दै आएका छन् । तर, मागको सम्बोधन भएको छैन ।

लुम्बिनी इँटा उद्योग व्यवसायी संघका अनुसार रुपन्देहीमा हाल ४८ वटा इँटा उद्योग सञ्चालनमा छन् । लुम्बिनी प्रदेशमा भने दुई सयभन्दा बढी इँटा उद्योग सञ्चालनमा छन् ।
 

Logo