सुदूरपश्चिममा ३९ हजार सवारी चालक कारवाहीमा

सुदूरपश्चिममा ३९ हजार सवारी चालक कारवाहीमा

केन्द्रबिन्दु
0
Shares

सुदूरपश्चिम प्रदेशमा ६ महिनामा ३९ हजार ३०० बढी सवारी चालक  कारवाहीमा परेका छन् । चालु आर्थिक वर्षको ६ महिनामा सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३९ हजार ३९३ सवारी चालक कारवाहीमा परेका सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ ।

ट्राफिक प्रहरी कार्यालय अत्तरियाको तथ्याङ्कअनुसार छ महिनामा सबैभन्दा बढी १४ हजार ७८५ मोटरसाइकल, नौ हजार ६३५ जीप र कार, छ हजार ५६० ट्रक, छ हजार ५४ ट्र्याक्टर, एक हजार २२६ बस र एक हजार १३३ अन्य सवारी चालक कारवाहीमा परेका छन् । छ महिनाको अवधिमा सबैभन्दा बढी मङ्सिर महिनामा आठ हजार ३४० र कम भदौमा तीन हजार ५५६ सवारी चालक कारवाहीमा परेका छन् ।

कारवाहीमा परेका सवारी चालकबाट दुई करोड २८ लाख ६७ हजार ५०० राजस्व सङ्कलन भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी निरीक्षक मोहनबहादुर साउँदले जानकारी दिए ।

यस वर्ष ट्राफिक नियम बढी उल्लङ्घन भएका र नयाँ प्रविधिको प्रयोगले सवारी चालक बढी कारवाहीमा परेका प्रवक्ता साउँदको भनाइ छ । सुदूरपश्चिममा यस वर्षको छ महिनामा ३३४ सवारी दुर्घटना भएका छन् । तीन सय ३४ दुर्घटना हुँदा ४२७ सवारी साधनमा क्षति भएको छ भने ९९ को ज्यान गएको छ । यो अवधिमा ३२० गम्भीर र २९० सामान्य घाइते भएका छन् ।

ट्राफिक कार्यालयको तथ्याङ्कअनुसार अघिल्लो आवको छ महिनामा १३६ सवारी दुर्घटना भएका थिए । एक सय ३६ दुर्घटना हुँदा १९६ सवारी साधनमा क्षति भएको थियो भने ६९ को ज्यान गएको थियो । अघिल्लो आवको छ महिनाको तथ्याङ्क हेर्दा चालु आवमा सवारी दुर्घटनासमेत बढेको तथ्याङ्क छ ।

Logo