लुम्बिनी प्रदेश गौरव आयोजना झुम्सा–चरङ्गे सडक अलपत्र

लुम्बिनी प्रदेश गौरव आयोजना झुम्सा–चरङ्गे सडक अलपत्र


लुम्बिनी प्रदेश गौरव आयोजना झुम्सा–चरङ्गे सडक अलपत्र परेको छ । पाँच वर्ष बितिसक्दा समेत लुम्बिेनी प्रदेश गौरव आयोजना झुम्सा–चरङ्गे सडक सम्पन्न हुन नसक्दा आयोजना अलपत्र बनेको हो ।

दुई वर्षमा सक्नेगरीे सिद्धबाबा सडकको विकल्पको रुपमा निर्माण थालिएको झुम्सा–चरङ्गे सडक अहिलेसम्म पनि निर्माण सम्पन्न हुन नसक्दा स्थानीयहरु समस्यामा परेका छन् ।

सडक खनेका कारण कतिपय जमिन भासिएको र पहिरो जाने गरेको स्थानीयहरुको गुनासो छ । चुरे क्षेत्रको सम्भाव्यता अध्ययन बिना सडक खन्दा,चुरेमा सडक बनाउने तरिका नमिल्दा र टुक्रे बजेट विनियोजन हुँदा लुम्बिेनी प्रदेश सरकारले सडक निर्माणको कामलाई गति दिन नसकेको स्थानीहरुको भनाइ छ ।

लुम्बिनी प्रदेश सरकारको गौरव आयोजना अन्तर्गत रहेको यो सडकका लागि तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश स्थापनाको पहिलो वर्षबाट नै बजेट विनियोजन गर्नुभएको भएपनि अहिले सो सडक अलपत्र बनेको छ । काम मन्द गतिमा चल्दा मृत्यु मार्गको रुपमा रहेको सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रले नागरिकलाई पिरोल्ने गरेको स्थानीय राजकुमारी वि.क.ले बताए ।

उनले वर्षेनी ढुङ्गगा सहितको पहिरोले जनधनको क्षति व्योहोर्न बाध्य यात्रुलाई वैकल्पिक सडक सञ्चालन हुने भन्दा खुशी लागेको भएपनि ५ वर्षको अवधिसम्म पनि सडक निर्माण पूरा नहुँदा दुःख लागेको बताए । उनका अनुसार सडक निर्माण पूरा नहुँदा कतिपय सवारी चालक र स्थानीयको ज्यान गएको छ ।

जिल्ला समन्वय समितिको स्थानीय स्रोत र साधन प्रयोग गरेर ट्रयाक खोलिएको सडकलाई लुम्बिनी प्रदेश सरकारले सिद्धबाबा सडकको वैकल्पिक मार्गको रुपमा प्रयोग गर्न ३० करोड बढी रकम खर्चिएको छ ।

वि.स.२०७५ सालमै प्रदेश सरकारले यो सडकका लागि १० करोड रुपैयाँ छुट्टयाएको थियो । जिल्ला समन्वय समिति पाल्पाले ट्रयाक खोल्ने बेलामा नै एक करोड छुट्टयाएको थियो । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷०८० को बजेटमा यो सडकका लागि पुनः ७ करोड १६ लाख ५० हजार रकम विनियोजन गरेको छ ।   

Logo