मकवानपुर प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ। प्रहरीले लागुऔषध नाइट्रोभेट, डाइजेपाम र एम्पुलसहित दुईजनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा मोरङ जिल्ला विराटनगर महानगरपालिका – १५ घर भई हाल वीरगंज बस्ने २२ वर्षीय रंजीत शर्मा र वीरगंज बस्ने जटाशंकर सोनार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–१५ रातमाटे चेकपोस्टमा चेकजाच गर्ने क्रममा प्रहरीले उनीहरुलाई लागुऔषधसहित पक्राउ गरिएको हो।
वीरगंजबाट हेटौँडातर्फ आउँदै गरेको ना ६ ख ८४२५ नम्बरको यात्रुबाहक बसलाई रोकी सुरक्षा जाँच गर्ने क्रममा बसमा सवार शर्माले ल्याएको २० किलो चामलको बोराभित्र लुकाई छिपाई ल्याएको अवस्थामा डाईजेपाम ३ सय १० एम्पुल, फेनरागन ३ सय १० एम्पुल, नुफिन ३ सय १० एम्पुल गरी जम्मा ९ सय ३० एम्पुल र नाईट्राभेट ६ सय ट्याबलेट फेला परेको प्रहरीले जनाएको छ।
लागुऔषधको बारेमा प्रहरीले सोधपुछ गर्दा सोनारले पठाएको र आफू सवार बसभन्दा अगाडि ना २६ प ७९८० नम्बरको मोटरसाइकलमा चितवनतर्फ गएको उनले बताएका थिए। शर्मालाई पनि साथमा लिएर चितवनतर्फ जाँदै गर्दा लोथरस्थित सडक किनारबाट सोनारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।





























प्रतिक्रिया