नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

केन्द्रबिन्दु
0
Shares

शुक्रवारबाट पोखरामा औपचारिक रुपमा शुरु हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

पोखरामा बिहीवार भएको अन्तिम तयारी बारेको पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले बेमौसमी वर्षातका कारण तयारीमा केही समस्या उत्पन्न भए पनि आफूहरुले मौसमको चुनौती पार गर्दै तयारी पूरा गरेको बताएका हुन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीको अस्वस्थताका कारण उद्घाटनका लागि उपराष्ट्रपति नन्दबहादुर पुनलाई निमन्त्रणा गरेको र उपराष्ट्रपति पुन बिहीवार नै पोखरा आइसकेको उनले जानकारी दिए । उनले राष्ट्रिय खेलुकदमा सबै सर्वसाधारणलाई रंगशाला प्रवेश खुल्ला गरिएको पनि जानकारी दिए । राष्ट्रिय खेलकुदको इतिहासमा पहिलो पटक च्याम्पियन ट्रफी बनाएको र सबभन्दा बढी पदक जित्ने टिमले उक्त ट्रफी प्राप्त गर्ने पनि बताए । 

राष्ट्रिय खेलकुदका लागि प्रदेशको टिम निर्माण तथा अभ्यासका क्रममा केन्द्रबाट कुनै सहयोग नभएको भन्दै भएका विवादबारे बोल्दै घिसिङले सबै तयारी सहभागी टिमले आफैँ गर्ने, केन्द्रले सहजीकरणमात्र गर्ने प्रस्ट पारे । व्यवस्थापकीय पक्षमा कमजोरी भएको स्वीकार्दै उनले विवाद भएका खेलाडी वा टिमको विषयमा अनुसन्धान गर्ने समितिहरु भएको र तिनको विषयमा उठेका प्रश्नमाथि सम्बन्धित समितिले अनुसन्धान गर्ने प्रतिक्रिया दिए । 

सदस्यसचिव घिसिङले सातौं दक्षिण एशियाली महासंघीय खेलकुद (साफ) का स्वर्ण पदकधारी ओलम्पियन खेलाडी टीकाबहादुर बोगटीले नवौं राष्ट्रिय खेलकुदको दीप प्रज्जवलन गर्ने पनि जानकारी दिए । 

नवौं राष्ट्रिय खेलकुदमा विभिन्न ३६ खेलमा कुल ६ हजार १ सय ५७ खेलाडीले ४ सय ४ स्वर्ण पदकका लागि प्रतिष्पर्धा गर्दैछन् । प्रतियोगिता कात्तिक ३ गते सम्पन्न हुँदैछ । 

Logo