कोरोना प्रभाव : घरेलु फुटबल फेरि अनिश्चित

कोरोना प्रभाव : घरेलु फुटबल फेरि अनिश्चित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

घरेलु फुटबल फेरि अनिश्चित बनेको छ । कोरोना कहरका बीच सुरु हुन लागेको राष्ट्रिय टिमको प्रशिक्षण स्थगित भएसँगै घरेलु फुटबल पुनः अनिश्चित बनेको हो । एसियाली फुटबल महासंघ (एएफसी)ले विश्वकप छनोटको दोस्रो चरणको खेल अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेसँगै एन्फाले समेत फुटबल प्रशिक्षक तत्काल सुरु नगर्ने निर्णय गरेको छ ।

छनोट प्रतियोगिता नै अनिश्चित बनेपछि फुटबल खेलाडी पुनः मैदान फर्कन समय लाग्ने देखिएको हो । एन्फाले अर्को सूचना जारी नभएसम्मका लागि राष्ट्रिय टिमको प्रशिक्षण स्थगित गरेको छ । प्रशिक्षण सुरु हुन नपाउँदै स्थगित भएपछि होटलको क्वारेन्टिनमा रहेका खेलाडीहरु घर फर्किएका छन् ।

एन्फा वरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्बाङ्गले विश्व नै महामारीसँग जुधिरहेको समय फुटबल गतिविधि अघि बढाउन समस्या भएको बताए । विश्वनै महामारीबाट प्रभावित भएको अवस्थामा फुटबल गतिविधि अनिश्चित बनेको हो । संक्रमणको अवस्था बढेसँगै तत्काल यसलाई रोकिएको हो ।

सरकारले भदौ १ गतेबाट अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि प्रशिक्षण सुरु गर्न अनुमति दिएको थियो । सोही अनुसार एन्फाले खेलाडीको कोरोना परीक्षणको ब्यवस्था मिलाएर प्रशिक्षण सुरु गर्ने तयारी गरेको थियो । तर अन्तिम समयमा एएफसीले खेल तालिका स्थगित गरेसँगै एन्फाले समेत सबै तयारी पूरा गरेर पनि प्रशिक्षणलाई अघि बढाएन ।

राष्ट्रिय टिमको प्रशिक्षण सुरु भएसँगै एन्फाले घरेलु फुटबलका गतिविधि अघि बढाउने तयारी गरेको थियो । राष्ट्रिय टिमलाई प्रशिक्षणमा फर्काउनेदेखि स्थगित अवस्थामा रहेका बी र सी डिभिजनका लिग सक्ने बिषयमा एन्फाले सरोकारवालासँग छलफल समेत गरेको थियो । तर उपत्यकामा कोरोनाको जोखिम बढेसँगै एन्फाले तत्काललाई घरेलु फुटबल गतिविधि अघि नबढाउने संकेत गरेको छ । कोरोनाको संक्रमण सामुदायको स्तरमा बढेसँगै एन्फाले बुधबारदेखि एक सातासम्मका लागि केन्द्रीय हेडक्वाटर बन्द गर्ने निर्णय गरेको छ ।

Logo