विश्वकपको तयारीमा ४०० देखि ५०० मजदुरको मृत्यु भएको थियो- कतार

विश्वकपको तयारीमा ४०० देखि ५०० मजदुरको मृत्यु भएको थियो- कतार


फिफा विश्वकपको आयोजकका एक उच्च अधिकारीले विश्वकपको तयारीमा ४०० देखि ५०० मजदुरको मृत्यु भएको पहिलो पटक स्वीकार गरेका छन् । कतारले श्रमिकको मृत्युको बारेमा यति ठूलो आँकडा दिएको यो पहिलो पटक हो । अहिलेसम्म दिइएको तथ्याङ्क यो भन्दा धेरै कम थियो ।

अङ्ग्रेजी पत्रिका बिजनेश स्ट्यान्डर्डमा प्रकाशित समाचारका अनुसार कतारका शीर्ष नेता हसन अल थावादीले बेलायती पत्रकार पियर्स मोर्गनलाई दिएको अन्तरवार्तामा यो कुरा स्वीकार गरेका छन् ।

थावाडीले भने, ‘यो सङ्ख्या करिब चार सयदेखि पाँच सयको बीचमा छ । मसँग यकिन सङ्ख्या छैन, तर छलफल भइसकेको छ । तर स्पष्टसँग भन्नुपर्दा एक जनाको मृत्यु पनि धेरै नै बढी हो ।’ थावाडीका अनुसार मृत्यु हुनेमा विश्वकपका लागि रंगशाला, सडक, होटललगायतका पूर्वाधार निर्माणमा संलग्न मजदुरहरु रहेका छन् । यसअघि विश्वकपको तयारीका क्रममा ज्यान गुमाउनेको संख्या ३७ देखि ४० सम्म रहेको बताइएको थियो । यससँगै कतारले हृदयघातजस्ता कारणले उनीहरुको मृत्यु भएको बताउँदै आएको छ ।

सन् २०१० मा विश्वकप फुटबल आयोजनाका लागि अनुमति पाएपछि कतारले आफ्नो पूर्वाधार निर्माण गर्न थालेको छ । यसलाई अहिलेसम्मकै महँगो विश्वकप पनि मानिन्छ किनभने यसमा २०० अर्ब डलरभन्दा बढी खर्च भएको छ ।

Logo