नयाँ क्रिकेट प्रशिक्षक डेभ वाटमोर नेपाल आए

नयाँ क्रिकेट प्रशिक्षक डेभ वाटमोर नेपाल आए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

खुला प्रतिस्पर्धाबाट प्रशिक्षकको जिम्मेवारी सुम्पिएको नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार अस्ट्रेलियाली प्रशिक्षक डेभ वाटमोरलाई स्वागत गरेको छ । एक कार्यक्रमको आयोजना गरि क्यानले नवनियुत्त प्रशिक्षक वाटमोरलाई जिम्मेवारी सुम्पिएको हो ।

भारतीय प्रशिक्षक उमेश पटवालको बर्हिगमनपछि रिक्त भएको पदमा अस्ट्रेलियाली प्रशिक्षक डेभ वाटमोर, नेपाली टोली सम्हाल्न नेपाल आएका हुन् । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार एक कार्यक्रम गरि प्रशिक्षकलाई औपचारिकरुपमा सार्वजनिक गरेको हो । सार्वजनिक गरेको कार्यक्रममा नवनियुक्त प्रशिक्षक वाटमोरले २०१८ मा नेपालले पाएको एक दिवसीयको मान्यतालाई जोगाउन प्रयास गर्ने बताए ।

यस अघि पनि प्रशिक्षकको जिम्मेवारी सम्हालिसकेका प्रशिक्षक वाटमोरले १९९० यता पाकिस्तान, बंगलादेश, श्रीलंका र जिम्बावे लगायत टोलीको मुख्य प्रशिक्षक भएर काम गरिसकेका छन् । सन् १९९६ मा श्रीलंकाले एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जित्दा वाटमोर टोलीका मुख्य प्रशिक्षक थिए। तर सन् २०१६ को ट्वान्टी–२० विश्वकपमा जिम्बावेले कमजोर प्रदर्शन गरेपछि त्यहाँको क्रिकेट संघले वाटमोरलाई बर्खास्त गरेको थियो । उनै प्रशिक्षकलाई क्यानले जनवरी १ तारिखदेखि लागू हुने गरि नियुक्त गरेको हो । एक वर्षे सम्झौतामा नेपाल आएका वाटमोरले युवा र अनुभवी खेलाडीलाई संयोजन गरि टोलीलाई प्रशिक्षण दिने बताए ।

व्यक्तिगत क्रिकेट करियरमा वाटमोरले अस्ट्रेलियाका लागि सात टेस्ट र एउटा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल खेलेका छन् । नेपाली टोलीले प्राप्त गरेको एक दिवसीय मान्यतालाई जोगाई राख्ने, ग्रासरुट लेभल र यु–१९ तथा महिला टोलीको कन्सल्टेन्ट रुपमा सहयोग गर्ने विषयमा छलफल भएको क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए ।

नवनियुक्त प्रशिक्षक वाटमोरले बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदान भ्रमण गरेका छन् ।

Logo